नेपाल पक्षको बैठकमा गएनन् भीम रावल


नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षको बैठकमा उपाध्यक्ष भीम रावल अनुपस्थित भएका छन् । दिउँसो ३ बजेबाट सुरु भएको नेपाल पक्षको बैठकमा उपाध्यक्ष रावल अनुपस्थित भएका हुन् ।

बैठकमा नेता नेपालसहित घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, मेटमणी चौधरीलगायतका नेताहरु उपस्थित छन् ।नेपाल पक्षले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने र नदिने सबै नेताहरुलाई छलफलमा बोलाएको हाे ।

आजको बैठकमा पार्टी फुटाएर जाने वा एमालेमा रहेर संघर्ष गर्ने भन्ने विषयमा छलफल हुने नेताहरुले बताएका छन् । नेपाल समूहका नेता मेटमणी चौधरीले सरकारमा जाने विषयमा समेत छलफल हुने जानकारी दिए ।

निर्णायक कदमअघि ओली-नेपाल परामर्शमा

सरकारले विश्वासको मत लिने प्रकरणसँगै वारपारको अवस्थामा पुगेका एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालले निर्णायक कदमअघि संस्थागत छलफल र आन्तरिक परामर्श थालेका छन् । संस्थापनले सोमबारबाट केन्द्रीय कमिटीमा भावी रणनीतिलाई लिएर छलफल चलाइरहेका वेला नेपालले बुधबार स्थायी कमिटीका आफूनिकट सदस्यको बैठक राखेका छन् ।

अध्यक्ष ओली केन्द्रीय कमिटी बैठकबाट नेपालसहित सरकारलाई विश्वासको मत दिने २२ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गराएर कारबाही गर्ने र पार्टीको भावी रणनीति तय गर्ने छलफलमा छन् । उता, वरिष्ठ नेता नेपालले पनि कारबाहीपछिको रणनीति तय गर्न मंगलबारबाट समूहगत छलफल जारी राखेका छन् । मंगलबार नेपालले सरकारलाई विश्वासको मत दिने सांसदहरूसँग परामर्श गरेका छन् ।

संस्थापन पक्षले नेपालसहित २२ सांसदलाई कारबाही गरे पनि दशबुँदे सहमति कार्यान्वयनमा लगेर अन्तिमसम्म एकताको प्रयास गर्ने र अर्को पक्षका धेरैभन्दा धेरै नेता मनाउने कोसिसमा देखिएको छ । उसले नेता नेपालबाहेकको एकतामा जोड दिइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्