सिंघीया खोलामा तटबन्ध निर्माणकार्य सुरु प्रकाशित मिति : श्रावण ५, २०७८ मंगलबार


खाडल खनेर लथालिङ छाडिएको विराटनगरस्थित सिंघीया खोला किनारमा तटबन्ध निर्माणकार्य सुरु भएको छ ।
खाडल खनेर यत्तिकै छाडिँंदा खोलाको बाढीले घर भास्सिने हो कि भन्ने चिन्तामा परेका सुकुम्बासी परिवार तटबन्ध निर्माण सुरु भएसँंगै हर्षित भएका छन् । सिंघीया खोला किनारामा तटबन्ध निर्माणको कामले निरन्तरता पाएसँगै विराटनगर महानगरपालिका–२ स्थित तीनपैनी पूर्व टोलबासी हर्षित भएका हुन ।

असारको पहिलो साता खाडल खनेर स्थानीय उपभोक्ता समितिले सुरु गरेको सो निर्माणकार्य बाढी र डुबानका कारण स्थगित गर्नु परेको थियो । खोलाको सतह बढेसँगै पानीले माटो कटान गर्दै लगेपछि स्थानीयबासी घरै भत्काएरै लैजाने डरले त्रसित भएका थिए । केही दिन अघिदेखि सो खोलाको तटबन्ध निर्माणको काम पुनः सुरु भएपछि स्थानीय बासिन्दाले राहतको महसुस गरेका छन् ।
यतिखेर आवश्यक उपकरणसहित १० जना मजदुरको समूह निरन्तर तटबन्ध निर्माण कार्यमा खटिएका छन् । उनीहरूले निर्माणस्थल नजिकै रहेको तीनपैनी स्पोर्टिङ क्बलको एककोठे भवनमा क्याम्प राखेर निर्माण कार्यलाई निरन्तरता दिइरहेका छन् । कुनै बाधा अवरोध बिना निरन्तर काममा खटिन पाए आउँदो दुईतिन दिनभित्रै सम्झौताअनुसारको तटबन्ध निर्माण गरिसक्ने मजदुरहरूले बताएका छन् ।

संघीय सरकारको ‘तराई–मधेस समृद्धि कार्यक्रम’ अन्तर्गत उक्त क्षेत्रमा झण्डै १० लाख रकमको बजेटबाट ३७ मिटर लम्बाइको तटबन्ध निर्माण गर्न लागिएको उपभोक्ता समितिले जनाएको छ । यसअघि आफूहरूले निर्माण कार्य सुरु गराएको भए पनि असारको दोस्रो साता खोलाको सतह बढेका कारण ल्याइएका मजदुरहरूले काम गर्न नमानेपछि केहि दिन निर्माणकार्य प्रभावित भएको उपभोक्ता समितिको भनाइ छ । यद्यपि फेरि काम सुरु भएको र आउँदो केहीदिनमै निर्माण सम्पन्न हुने समितिका अध्यक्ष शिला दिक्षीत कार्कीले बताइन् ।
खोलाको पानीको सतह बढ्ने तथा बाढी आउन सक्ने साउन र भदौ महिना बाँकी रहेका कारण यसअघि निर्माण रोकिएपछि सुकुम्बासी परिवारमा चिन्ता छाएको थियो । यद्यपि हाल निर्माण सुचारु भएको तथा केही दिनभित्रै तटबन्धको निर्माण सम्पन्न हुने कुरामा उनीहरू आशावादी छन् ।

#
खोलामा
#तटबन्ध
#सिंघीया

प्रतिक्रिया दिनुहोस्