मौसम अनुकूल हुँदा पनि धान रोपाइँ कम


नेपालको अर्थतन्त्रमा कृषिको योगदान सबैभन्दा बढी रहेको छ र सँगसँगै कृषिको विकास तथा कृषिको औद्योगीकरणको सम्बन्धमा पनि धेरै चर्चा भएको छ । कृषि वैज्ञानिक तथा अर्थशास्त्रीहरूका पनि यसबारेमा बृहत् छलफल भइरहेको पाइन्छ । तर, व्यवहारमा भने हरेक वर्ष कृषिको उत्पादकत्व मनसुनमा भर पर्छ । कृषिको उत्पादकत्वसँग मुलुकको अर्थतन्त्रको सीधा सम्बन्ध छ । त्यसैले हरेक वर्ष मनसुन समयमा तथा राम्रो भएका कारण आर्थिक वृद्धि पनि राम्रो भएको तथ्यांक छ । कृषिको कुरा गर्दा नेपाल कृषिप्रधान मुलुक हो भनेर भनिन्छ, तर हरेक वर्ष रोपाइँ गर्ने बेलामा कृषक आकाशतिर हेर्छ अनि मल नपाएको झोकमा जबर्जस्ती रोपाइँ गर्छ । हरेक वर्ष दोहोरिने यस्ता घटनाले न त उत्पादकत्व बढाउन महत्व गर्छ, न त कृषकलाई कृषिमा नै टिकाइराख्न मद्दत गर्छ । बिना मल, आधुनिक औजार तथा पानी कृषिको उत्पादकत्व बढ्दैन, यसमा योजनाकारहरू पनि अनभिज्ञ छैनन् । तर पनि नेपालको कृषिको विडम्बना यही नै थियो र छ । यसपटक समयमा नै पानी परेको छ, समयमा नै मनसुनको कारण मुलुकमा रोपाई गर्ने वातावरण बन्यो । तर, आवश्यकताभन्दा बढी पानी परेका कारण रोपाइँ पनि बगाउला कि भन्ने अर्को चिन्ता जन्माएको छ । आवश्यकताभन्दा बढी पानी परेका कारण मुलुकभर असार महिनासम्म ७६ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । साधारणतया असार मसान्तसम्ममा मुलुकमा रोपाइँ भइसकेको हुन्छ । यसपटक भने समयमै वर्षा सक्रिय भए पनि अघिल्लो वर्षको तुलनामा कम रोपाइँ भएको छ । कृषि विभागका अनुसार असार मसान्तसम्ममा मुलुकभर ७६.४४ प्रतिशत धान रोपाइँ भएको छ । तर, अघिल्लो वर्ष सो अवधिमा ८१.५८ प्रतिशत धान रोपाइँ भएको थियो । जसका कारण यो वर्ष समयमै वर्षात् भए पनि अघिल्लो वर्षको तुलनामा ५ प्रतिशत रोपाइँ कम भएको छ । यस वर्ष प्रदेश नम्बर २ मा धान रोपाइँ कम भएकाले यो वर्ष अघिल्लो वर्षको तुलनामा कम रोपाइँ भएको हो । नेपालमा सबैभन्दा बढी धान रोपाइँ हुने प्रदेश नम्बर २ हो । यसपटक आवश्यकभन्दा बढी पानी परेका कारण खेतमा पानी जमेकाले प्रदेश नम्बर २ मा अलि ढिला रोपाइँ हुने देखिएको छ । कृषि विभागको दाबीअनुसार यो वर्ष समयमा नै मौसम सक्रिय भएको, रासायनिक मल र बीउको अभाव नभएकाले पनि धानको उत्पादन बढ्ने अनुमान गरिएको छ ।

नेपालभर १३ लाख ७१ हजार ७ सय ६ हेक्टरमा धान रोपाइँ हुन्छ र तर हालसम्म १० लाख ४८ हजार ५ सय ७ हेक्टरमा धान रोपाइँ भइसकेको विभागको तथ्यांकले देखाएको छ । जसमध्ये सबैभन्दा धेरै कर्णाली प्रदेशमा ९९.७१ प्रतिशत अर्थात् ३८ हजार १२ हेक्टर क्षेत्रमा रोपाइँ सम्पन्न भएको छ भने सुदूरपश्चिम प्रदेशमा ९०.७१ प्रतिशत अर्थात् १ लाख ४९ हजार ३ सय ४६ हेक्टर क्षेत्रमा रोपाइँ भएको छ । यस्तै, लुम्बिनी प्रदेशमा ८६.९४ प्रतिशत अर्थात् २ लाख ६३ हजार ९४० हेक्टरमा धान रोपाइँ भएको छ भने बागमती प्रदेशमा ७८ प्रतिशत अर्थात् ९० हजार ३३० हेक्टरमा क्षेत्रमा रोपाइँ भएको छ । गण्डकी प्रदेशमा ७२.४० प्रतिशत अर्थात् ७८ हजार ३ सय ९० हेक्टर क्षेत्रमा रोपाइँ सम्पन्न भएको छ भने प्रदेश नम्बर २ मा ६८ प्रतिशत अर्थात् २ लाख ५० हजार ५ सय ८२ हेक्टर क्षेत्रमा धान रोपाइँ सम्पन्न भएको विभागको तथ्यांकले देखाएको छ । तर, सबैभन्दा कम प्रदेश १ मा ६४.४८ प्रतिशत १ लाख ७७ हजार ९ सय ५ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ । तर, प्रविधि, प्रसार, यान्त्रीकरण, धान भण्डारण, बजार पूर्वाधार सुधार एवं न्यूनतम समर्थन मूल्यको कार्यान्वयनजस्ता कार्यक्रमले विगत तीन दशककोे अवधिमा मुलुकमा धान उत्पादन ६० प्रतिशतले वृद्धि भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको दाबीबीच नेपालमा खाद्यान्नको आयात भने बर्सेनि बढ्दै गएको छ ।

#
धान रोपाइँ
#मौसम अनुकूल

प्रतिक्रिया दिनुहोस्