रेशमप्रति देउवाको धारणा : राजनीतिक व्यक्तिलाई जेलमा थुनेर हुँदैन


काठमाडाैं : प्रधानमन्त्री शेरबहादुर देउवाले टीकापुर घटनाका आरोपित भनिएका रेशम चौधरी राष्ट्रिय सहमतिका आधारमा छुटाउन सकिने बताएका छन्।

उनले प्रतिनिधिसभामा विश्वासको मत लिने क्रममा यस्तो बताएका हुन्। उनले भने, ‘रेशम चौधरी मैले पनि चिनेकै मान्छे हो। सहमति भए रेशम चौधरीलाई छुटाऊँ भन्ने मान्छे म पनि हो। राजनीतिक व्यक्तिलाई जेलमा थुनेर समस्या समाधान हुँदैन। तर, अदालतले त्यो मान्दैन। सहमति भयो भने उहाँलाई छुटाऔं।’

देशलाई एक बनाएर जानुपर्ने र मधेश पहाड सम्पूर्ण क्षेत्रको समस्या समाधान गरेर जानुपर्ने उनको भनाइ छ।

देउवाले सरकारको पहिलो प्राथमिकता खोप भएको पनि बताएका छन्।

प्रतिनिधि सभामा विश्वासको मत दिने प्रक्रियामा सहभागी सांसदहरूले राखेका कुरामाथि धारणा राख्दै देउवाले यस्तो बताएका हुन्। ‘सरकारको पहिलो प्राथमिकता खोप, दोस्रो प्राथमिकता खोप र तेस्रो प्राथमिकता खोप हो’, देउवाले भने, ‘सरकार चाँडै सबै नागरिकलाई कोरोनाको खोप दिने काममा जुटेको छ।’

देउवाले प्रमुख प्रतिपक्षी दल एमालेका नेता केपी शर्मा ओलीको संसदमा अनुपस्थित भएको भन्दै गुनासो गरे। उनले भने, ‘प्रधानमन्त्रीले सदनमा बोल्दा प्रतिपक्षी दलको नेताले सुन्नुपर्छ। उहाँले बोल्दा म सधैं आउँथे। तर उहाँ आउनुभएन। उहाँको स्वास्थ्य अवस्था पनि ठीक नभएको हो कि?’

प्रतिक्रिया दिनुहोस्