भीम रावल, गोकर्ण बिष्ट, सुरेन्द्र पाण्डेलगायत नेताहरू विश्वासको मत दिन नहुने पक्षमा


प्रधानमन्त्री शेरबहादुर देउवाले संसदबाट विश्वासको मत लिने तयारी गरेपछि नेकपा एमालेको माधव नेपाल समूह भित्र दुई धार देखिएको छ । प्रतिनिधिसभा पुनर्स्थापनाका लागि सर्वाेच्च अदालतमा रिट दर्ता गर्दा २३ संसदको हस्ताक्षर जुटाएको नेपाल समूहमा विश्वासको मत दिने विषयमा दुई धार देखिएको हो ।

नेपाल समूहका २३ सांसद् मध्ये भीम रावल, गोकर्ण बिष्ट, सुरेन्द्र पाण्डेलगायत नेताहरू पार्टी एकता जोगाउन देउवालाई विश्वासको मत दिन नहुने पक्षमा छन् । तर देउवालाई विश्वासको मत नदिए संसद नजोगिने भन्दै माधवकुमार नेपाल, मेटमणि चाैधरीलगायत विश्वासको मत दिनुपर्ने पक्षमा छन् ।

प्रधानमन्त्री शेरवहादुर देउवाले विश्वासको मत लिन संघीय संसद सचिवालयमा प्रस्ताव दर्ता गराएपछि एमाले विवाद सामधानका लागि गठन भएको कार्यदलका सदस्य माधव नेपाल निवास कोटेश्वरमा पुगेका छन् । पार्टी एकताका लागि संस्थागत निर्णय भन्दा बाहिर नजान आग्रह गर्दै विष्णु पौडेललगायत नेताहरू नेपाल निवास कोटेश्वर पुगेका हुन् ।

सर्वोच्च अदालतको फैसलाबाट पुनर्स्थापित प्रतिनिधिसभाको पहिलो बैठक आइतबार दिउँसो ४ बजे बस्दैछ । बैठक अघि विश्वाकाे मत दिने नदिने विषयमा निर्णय गर्न नेपाल समूह छलफलमा जुटेकाे छ ।

देउवाले विश्वासको मत पाए डेढ वर्ष सरकार चल्नेछ । विश्वासको मत नपाए ६ महिना भित्र निर्वाचन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्