काँग्रेस र माओवादीको संसदीय दलको बैठक बस्दै


काठमाडौं- सत्तारुढ दल नेपाली काँग्रेस र माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै छ । आइतबार अपरान्ह पुनःस्थापित प्रतिनिधिसभा बैठक बस्नुअघि काँग्रेस र माओवादीको संसदीय दलको बैठक बस्न लागेको हो ।

आइतबार बिहान ११ बजेका लागि सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा माओवादीको बैठक बस्दै छ । माओवादी केन्द्रले बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने पार्टीका सांसदहरुलाई बोलाएको छ ।

यस्तै नेपाली काँग्रेसको बैठक आइतबार दिउँसो २ बजे नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको भवनमा बस्दै छ ।

काँग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि पहिलो पकट काँग्रेसको संसदीय दलको बैठक बस्न लागेको हो।

बैठकमा अपराह्न ४ बजे बस्ने प्रतिनिधिसभा बैठकका सन्दर्भ छलफल गर्न काँग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालको भनाइ छ ।

एमाले स्थायी कमिटी बस्दै
नेकपा (एमाले) को स्थायी कमिटी बैठक बस्दै छ।

ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा आज बिहान ११ः०० बजे बैठक बस्ने पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए। उनले भोलि बस्ने केन्द्रीय कमिटी बैठकको एजेन्डा तय गर्न र विधान अधिवेशनको तयारी गर्नका लागि बैठक आयोजना गरिएको बताए।

यही साउन ४ गते १४औँ केन्द्रीय कमिटी बैठक तुल्सीलाल स्मृति प्रतिष्ठानमा बिहान ११ः०० बजे बोलाइएको छ। उनका अनुसार पार्टी संरचना २०७५ जेठ २ गते अगाडि फर्काउँदै आइतबारको बैठकमा नेपाल पक्षका नेतालाई समेत डाँकिएको छ। एमालेले यही साउन २५ देखि २७ गते विधान अधिवेशन गर्ने निर्णय गरेको छ।

गत शुक्रबार पनि एमाले स्थायी कमिटी बैठक बसेको थियो। शुक्रबारको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको सहभागिता रहेको थिएन। सो बैठकले पार्टीको विवाद समाधान गर्न गठित कार्यदलले बुझाएको १० बुँदे सहमतिलाई अनुमोदन गरेको थियो।

प्रतिक्रिया दिनुहोस्