बालकोटमै पुगेर विघठित कार्यदलका सदस्यहरुले ओलीसँग गरे निर्णायक छलफल, यस्तो छ निश्कर्ष


काठमाडौं, साउन २ । एमालेमा विवाद समाधान गर्न बनेको विघठित कार्यदलका सदस्यहरुले अध्यक्ष केपी शर्मा ओलीसँग दुई घण्टा छलफल गर्नुभएको छ । आज बिहान बसेको अनौपचारिक बैठकपछि अध्यक्ष ओली र बरिष्ठ नेता माधवकुमार नेपालसँग निर्णयक छलफल गर्ने निर्णयअनुसार कार्यदलमा रहेका नेताहरुले अध्यक्ष ओलीसँग बालकोटमै पुगेर छलफल गर्नुभएको हो ।

एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङका अनुसार बिहान बसेको अनौपचारिक बैठकले अध्यक्ष ओली र नेता माधव नेपाललाई अलग अलग भेटेर पार्टी एकताका लागि पहल गर्न आग्रह गर्ने निर्णय गरेको थियो । सोही बमोजिम दिउसो उपमहासचिव विष्णु पौडेल र नेम्वाङले अध्यक्ष ओलीलाई भेटेर बिहानको छलफलबारे जानकारी गराउनुभएको थियो । सो जानकारीपछि अध्यक्ष ओलीले साँझ छ बजे नेताहरुलाई समय दिएपछि बिष्णु रिमाल र रघुपन्त बाहेकका सवै नेता बालकोट पुग्नुभएको हो ।

कार्यदलका सदस्यहरुले ओलीलाई नेता नेपालसँग भेटेर सहमति कायम गर्न आग्रह गर्नुभएको थियो । कार्यदलसँग अध्यक्ष ओलीले कार्यदलको प्रतिवेदनप्रति सकारात्मक भएकै कारणले पार्टीले त्यसलाई ग्रहण गरिसकेको प्रष्ट पार्नुभएको छ । अध्यक्ष ओलीले बालकोट आए माधवलाई आफूसधैव स्वागत गर्ने निर्णय पनि सुनाउनु भएको छ ।

‘बालुवाटार हुँदा मैले माधव कमरेडलाई ठाउँ ठाउँमा गएर भेटें । अब उहाँलाई बालकोटमा स्वागत छ,’ भेटमा सहभागी अर्का नेताका अनुसार अध्यक्ष ओलीको भनाई थियो । अध्यक्ष ओलीको भनाइ उधृत गर्दै एक नेताले भन्नुभयो ‘उहाँलाई सम्झाउनुहोस । पार्टीको विवाद मिलाउ । एकतावद्ध एमाले बनाएर अघि बढौं ।’

कार्यदलमा संस्थापनबाट संयोजक रहनुभएका नेता सुवासचन्द्र नेम्वाङले अध्यक्ष ओलीसँगको छलफल निकै फलदायी बनेको बताउनु भयो । उहाँले कार्यदलको सहमति कार्यान्वयनमा अध्यक्ष पूर्णरुपमा सहमत रहेको जानकारी पनि दिनुभयो । ‘अध्यक्षलाई भेटेर हामीले करिब दुईघण्टा हाम्रा कुरा भन्यौं र अध्यक्षका कुरा सुन्यौं, कार्यदलको प्रतिवेदन कार्यन्वयन गर्न अध्यक्ष सकारात्मक हुनुहुन्छ,’ बैठकपछि नेम्वाङले भन्नुभयो । उहाँले कार्यदलको सहमति माधवले माने समस्या टरेको बताउनु भयो । ‘अध्यक्ष सकारात्मक हुनुहुन्छ, माधव कमरेड पनि सकारात्मक भए कुरा टुंगिन्छ ।’

नेताहरुले आइतवार बिहान माधव नेपाललाई भेट्ने समय तय गरेको जानकारी दिनुभएको छ । आज भने माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटघाटका कारणले एमालेका नेताहरुलाई समय दिन नसकेको जानकारी नेपालले गराउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्