एमाले एकता जोगाउन १० बुँदे सहमतिलाई अगाडि बढाइने


काठमाडौं, २ साउन । नेकपा (एमाले)को दोस्रो तहका नेताहरूले पार्टी एकतालाई जोगाउन कार्यदलले गरेको १० बुँदे सहमतिलाई अगाडि बढाउने भएका छन् ।

आज शनिबार एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका दोस्रो तहका नेताबीच भएको छलफलले यस्तो निष्कर्ष निकालेको हो ।

छलफलमा कार्यदलका रहेका ओली पक्षका नेताहरू सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल तथा नेपाल पक्षका भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त सहभागी थिए ।

यस्तै आजको छलफलमा एमाले सचिव भीम आचार्य पनि सहभागी थिए । उनीहरूले पार्टी एकता जोगाउन १० बुँदे सहमति सहयोगी बन्ने निष्कर्ष निकालेका हुन् ।

शुक्रबार बसेको एमाले स्थायी कमिटी बैठकले पनि १० बुँदे सहमतिलाई अनुमोदन गरेको उल्लेख गर्दै उनले आजको छलफलमा त्यसलाई अगाडि बढाउने निष्कर्ष निकालिएको एक नेताले बताए । यसअघि एमाले एकताका लागि दुवै पक्ष सम्मिलित कार्यदलले १० बुँदे सहमति गरेको थियो ।

तर, २८ असारको सर्वोच्च अदालतको फैसलाले प्रतिनिधि सभा पुनःस्थापनासँगै ओली प्रधानमन्त्रीबाट हटेपछि सो सहमति प्रभावहीन बनेको थियो ।

प्रतिक्रिया दिनुहोस्