ओलीको पछिल्लो अभिव्यक्तिले पार्टी एकतामा अप्ठ्यारो पर्‍यो : भीम रावल


काठमाडौं। नेकपा एमालेका नेता भीम रावलले आफूहरूको माग सम्बोधन नभएका कारण स्थायी समिति र संसदीय दलको बैठक बहिष्कार गरेको बताएका छन्। स्थायी समिति सदस्यसमेत रहेका कार्यदल सदस्यहरूले बैठक स्थगित गर्न र शीर्षतहमा सहमति गरेर मात्रै बैठक सञ्चालन गर्न माग गरेको भए पनि पार्टी अध्यक्ष केपी शर्मा ओलीले बैठक सञ्चालन गरेपछि आफूहरू बैठकमा सहभागी नभएको नेता रावलले बताए।

अध्यक्ष ओलीको पछिल्लो अभिव्यक्तिका कारण एकतामा अप्ठ्यारो सिर्जना गरेको भन्दै केही समयपछि बैठक राख्न आग्रह गर्दा पनि अध्यक्ष ओलीले बैठक सञ्चालन गरेको उनले बताए। रावलले भने, ‘एकतालाई अगाडि बढाउन अध्यक्ष केपी ओली र बैठकमा उपस्थित नेताहरूले गम्भीर रूपमा सोच्नुहोस्। यो बैठक स्थगित गर्नुहोस् र हामीले जुन कार्यदलमा सहमति गरेर यो प्रक्रिया अगाडि बढ्ला भन्ने अपेक्षा गरेका थियौं। स्वयं पार्टी अध्यक्षबाट आफ्नो निवासमा सर्ने क्रममा दिएका अभिव्यक्तिहरूले हामीलाई झनै अप्ठ्यारो परेको छ।’

उनले अघि थपे, ‘त्यसकारण अलिकति हामीलाई समयको आवश्यकता पर्‍यो। यो समय हामीलाई दिनुस्, स्थायी कमिटी बैठक स्थगित गर्नुस्। संसदीय दलको बैठक स्थगित गरौं। अनौपचारिक कुरा गरौं। पार्टी अध्यक्ष र वरिष्ठ नेताको बीचमा शीर्ष तहमा कुराकानी गर्ने, हामीहरूबीचमा अनौपचारिक कुराकानी गर्ने, हामीले कार्यदलको बैठकमा जुन प्रक्रियागत कुरामा सहमति गरेका थियौं। तदनुकूल अगाडि जाने कुरातर्फ अगाडि जाउँ भनेर उहाँहरूलाई हामीले आग्रह गर्‍यौं। पार्टी अध्यक्षले यो बैठक जारी रहन्छ। यसका कार्यसूची अगाडि बढाउनुस् भनेपछि हामीले भन्यौं, हाम्रो बैठकमा सहभागिता छैन। हामी हिँड्यौं भनेर हिड्यौं।’

प्रतिक्रिया दिनुहोस्