नेपालको स्थापना सन् १७७६ को अमेरिकि स्वतन्त्रताभन्दा पनि करिव ९ वर्ष अगाडि भएको स्मरण गराउँदै लेखिएको पत्र


–सन्तोष खडेरी

अमेरिकि अखबारलाई पत्र लेख्दै जब वासिङ्टन स्थित नेपाली राजदूत मातृकाप्रसाद कोईरालाले आधुनिक राज्यका रुपमा नेपालको स्थापना सन् १७७६ को अमेरिकि स्वतन्त्रता भन्दा पनि करिव नौ बर्ष अगाडी भएको स्मरण गराए।

अमेरिकि स्वतन्त्रता आन्दोलनको प्रभाव अमेरिकि र अमेरिकाका लागि मात्र नभई आजको दुनियाँका अधिकांश मानिसहरुको ब्यक्तिगत स्वतन्त्रतामा समेत परेकाले सबैका लागि अमेरिकि स्वतन्त्रता दिवसले खास अर्थ राख्दछ।

सन् १९६२ मा भारत र चीनको सीमा युद्धताका छापिने समाचारहरुमा अमेरिकि अखबार ‘दी न्युयोर्क टाइम्स’ मा एकपटक नेपाल पनि भुटान र सिक्किम झैँ अर्ध स्वतन्त्र राज्य हो भनेर छापिएछ। त्यस्तै अर्को पटक नेपाल पनि भुटान र सिक्किम झैँ भारत संरक्षित राज्य हो भनेर खबर छापिएछ।

संसारभर र अमेरिका भित्र आफ्नो सशक्त प्रभाव रहेको अखबारले त्यसरी नेपालको पूर्ण स्वतन्त्रता र सार्वभौमसत्तालाई कम आंक्ने गरि खबर सम्प्रेषण गर्नु कुनै पनि नेपालीका लागि स्वीकार्य थिएन। मुलुकको प्रतिनिधित्व गरेर त्यहाँ रहेका नेपालका राजदूतको समेत यस्तो बिषयमा ध्यान पुग्नु स्वभाविक थियो। त्यतिबेला अमेरिकाका लागि नेपाली राजदूत पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोईराला थिए।

कोईरालाले लगत्तै दी न्युयोर्क टाईम्स अखबारलाई पत्र लेखे। पत्रमा उनले अखबारमा छापिएका ती दुबै समाचारमा नेपाललाई अलग अलग रुपमा भुटान र सिक्किम झैँ अर्ध स्वतन्त्र राज्य र भारत संरक्षित राज्य हो भनेर लेखिएकोमा आपत्ति जनाए। साथै उनले आधुनिक राज्य राष्ट्रका रुपमा नेपालको स्थापना सन् १७७६ को अमेरिकि स्वतन्त्रता भन्दा पनि करिव नौ बर्ष अगाडी भएको स्मरण गराए। राजदूतको उक्त पत्रलाई न्युयोर्क टाईम्सले राजदूतको उक्त पत्र पत्रिकामा छापेको थियो।

पत्रमा उनले थप लेखेका थिए।

तत्कालीन राष्ट्रपति जोन.एफ.केनेडीका साथमा राजदूत मातृकाप्रसाद कोईराला

” आफ्नो इतिहासमा नेपाल कहिल्यै पनि अर्ध स्वतन्त्र राज्य वा कसैको संरक्षित राज्य थिएन। नेपाल आधुनिक राज्यका रुपमा सन् १७७६ को अमेरिकी स्वतन्त्रताको घोषणा हुनु भन्दा अगाडी नै आफ्नो सिमाना निर्धारण गरेर आफ्ना जनताहरुलाई एउटै कानून र रितिरिवाजमा एकआपसमा जोडेर अन्य मुलुकहरु संग समान किसिमको सम्बन्ध स्थापना गर्ने एउटा ब्यबस्थित राज्यका रुपमा अगाडी बढिसकेको थियो।
नेपाल सरकारले सर्वप्रथम सन् १७९२ मा इष्ट इण्डिया कम्पनी संग वाणिज्य सन्धिमा हस्ताक्षर गरिसकेको थियो। सन् १८०१ मा नेपालले ब्रिटेनसंग कूटनीतिक सम्बन्ध स्थापना गरेर ब्रिटिस पक्षलाई नेपालमा आफ्नो आवासीय दूतावास खोल्न अनुमती प्रदान गरिसकेको थियो। त्यस्तै अन्तिममा सन् १९२३ मा ब्रिटेन र नेपाल बिच भएको शान्ति तथा मैत्री सन्धिबाट दुबै पक्षले एक अर्काको आन्तरिक र बाह्य दुबै स्वतन्त्रतालाई स्वीकार गर्न सहमत भएका थिए।

जब सन् १९४७ मा ब्रिटिस भारतबाट फिर्ता हुने भयो त्यतिबेला त्यस अघि सम्म भुटान र सिक्किमको मामिलामा ब्रिटिसले उपयोग गरिरहेको अधिकारलाई भर्खरको स्वतन्त्र भारतले समेत कायम नै राख्ने गर्ने गरि अर्को सम्झौता गर्यो। तर नेपालको हकमा भने सन् १९२३ को सन्धिबाट ब्रिटिसपक्षले नेपालको पूर्ण स्वतन्त्रतालाई स्वीकार गरिसकेकाले त्यहाँ कुनै विशेष सुविधा थिएन।

सन् १९२३ को त्यही सन्धि सन् १९५० मा स्वतन्त्र भारतसंग अर्को सन्धि नहुँदा सम्म कायमै थियो। जब सन् १९५० मा स्वतन्त्र भारत र नेपालका बिचमा अर्को नयाँ सन्धि भयो त्यसमा दुबै मुलुकको एक अर्काको स्वतन्त्रता , सार्वभौमसत्ता र भौगोलिक अखण्डतालाई स्वीकार गरेका छन्।
तिब्बत र चीनसंगको नेपालको सम्बन्ध धेरै पुरानो हो। नेपाल र चीनका बिचमा सातौं शताब्दीसंग सम्बन्ध रहेको पुराना प्रमाणले देखाउँछ। त्यस्तै तिब्बतसंग सन् ६४० देखि नेपालको सम्बन्ध कायम रहिआएको छ। तिब्बतसंग सन् १८५६ मा भएको व्यापार वाणिज्य सन्धि त्यस्तै सन् १७९२ र हालै मात्र सन् १९६० मा चीनसंग भएको शान्ती तथा मैत्री सन्धिले नेपालको पूर्ण स्वतन्त्रता , सार्वभौमसत्ता र भौगोलिक अखण्डतालाई स्वीकार गरेको छ।

आजको दिनमा ३३ वटा मुलुकहरुसंग नेपालको कूटनीतिक सम्बन्ध छ। त्यस्तै सन् १९५५ को डिसेम्बर यता नेपाल संयुक्त राष्ट्रसंघको सदस्य छ। नेपाल र अमेरिकाका बिच सन् १९४७ मा सम्बन्ध स्थापना भएको र सन् १९५८ यता अमेरिकामा नेपालको आवासीय राजदूतावास त्यस्तै सन् १९५९ यता नेपालमा अमेरिकाका आवासीय राजदूत छन्। नेपाल र अमेरिकाको सम्बन्ध सन् १९४७ को अप्रिल २५ मा हस्ताक्षर भएको वाणिज्य तथा मैत्री सन्धिले निर्धारण गरेको हो। नेपालको पूर्ण स्वतन्त्रता र सार्वभौमसत्तालाई अमेरिकाले मान्यता दिएर काठमाण्डौंमा नेपालका तत्कालीन प्रधानमन्त्री महाराज पद्म शमशेर जबरा र अमेरिकी राष्ट्रपतिका प्रतिनिधि जोसेफ सी. स्याटर्थवेटले हस्ताक्षर गरेका थिए। ”

नेपाली इतिहासका बारेमा निकै राम्रो जानकारी भएका कोईरालाको अंग्रेजी भाषामा समेत उत्तिकै राम्रो पकड थियो। करिव दुई बर्ष सम्म वासिङ्टन र न्युयोर्क (संयुक्त राष्ट्रसंघ) का लागि राजदूत रहेका कोईरालाले त्यहाँका विभिन्न विश्वविद्यालय देखि सार्बजनिक मंचहरुमा समेत प्रवचन दिने गर्दथे।

अमेरिकाका तत्कालीन राष्ट्रपति जोन.एफ.केनेडीका साथमा उभिएका राजदूत कोईरालाको संयुक्त तस्बिर ०३-अगष्ट-१९६१ मा ओहदाको प्रमाणपत्र बुझाउने समारोहको हो। ह्वाइटहाउसमा खिचिएको यस तस्बिरलाई जोन.एफ.केनेडी लाइब्रेरीबाट सार्वजनिक गरिएको हो।

त्यस्तै माथीको जानकारी दी न्युयोर्क टाईम्स अखबारबाट लिइएको हो।

प्रतिक्रिया दिनुहोस्