सँचालन नहुँदै भाँसियो बुहप्रतिक्षित ‘कमला पूल’


जनकपुरधाम । तराई मधेशको लाईफलाईन मानिएको हुलाकी राजमार्ग अन्तर्गत धनुषा र सिरहा जोडने कमला पूल भाँसिएको छ ।

२०७८ साल असार १३ गते हस्तान्तर गरी सँचालनमा ल्याउने सम्झौता भएको कमला पूलको एक स्पान नै भाँसिएको हो । तराई मधेशको बहुप्रतिक्षित पूल मानिएको सो कमला पूलको स्पान भाँसिएपछि पुनः अब कमला पुल सँचालन तत्काल नहुने देखिएको छ ।

कमला नदीमा धनुषा जिल्ला र सिरहा जिल्ला जोडने सिरहाको बसपिट्टा घाटस्थित निर्माण भइरहेको कमला पूलको १२ वटा स्पानमध्ये पूर्वबाट पश्चिमतर्फको दोस्रो स्पान भाँसिएको सिरहाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) प्रदीपराज कणेलले जानकारी दिए ।
“पूलमा १२ वटा स्पान बनाइएको छ । जसमध्ये सिरहातर्फबाट दोस्रो स्पान करिब एक फिट तल भाँसिएको हो । यसमा कमसल वस्तुको प्रयोग वा गुणस्तरीयहिन कार्य भएको हुन सक्छ ।”–सिडिओ कणेलले भने ।

२०६८ सालसम्म ४२ महिनामा पुल निर्माण कार्य सम्पन्न गर्नुपर्ने ठेक्का पाएका पप्पु कन्सट्रक्सन र ज्यान जेभीबाट काम सुरु भएको थियो । बीचबीचमा म्याद थपिदै अन्त्यमा लुम्बीनी बिल्डर्सले ठेक्का पाएको सिडिओ कणेलले बताए ।

उनका अनुसार, २०७८ साल असार १३ गतेसम्म पूल निर्माण कार्य सम्पन्न गरी हस्तान्तरण गर्नुपर्ने सम्झौता बमोजिम कार्य सम्पन्न भएको थियो तर हस्तान्तरण गर्न बाँकी रहँदा कमला नदीमा आएको साधारण बाढीमै पुलको स्पान भाँसिनु काम गुणस्तरियहिन भएको हुन सक्ने बताए ।

सिरहाका प्रमुख जिल्ला अधिकारी कणेलले पुल निर्माणको ठेक्का पाएका लुम्बीनि बिल्डर्सलाई उल्लेख गर्दै गुणस्तरियहिन काम भएको हुनुपर्ने भन्दै केन्द्रमा प्रतिवेदन समेत पठाएका छन् । पूलको स्पान भाँसिएलगत्तै एक्सनमा आएका सिडिओ कणेलले जाँच पडतालको लागि केन्द्रमा प्रतिवेदन गरेका छन् ।

२४ करोड ४२ लाख कुल लागतमा निर्माण भएको कमलाको पुल साधारण बाढीमै भाँसिएपछि तराई मधेशवासीको आसा समेत भाँसिएको हो । बर्षौदेखि प्रतिक्षामा रहेको मधेशको लाईफलाईन मानिएको कमला पुल भाँसिएपछि नागरिकको आसा पनि मरेको जस्तो भएको छ ।

कमला नदीमा यसपाली आधा असारमै गत बर्षभन्दा करिब १ मिटर बढी पानीको सतह बढेको छ । सिरहा तर्फबाट सिडिओ कणेलको टोलीले दैनिक रुपमा अनुगमन, नीरिक्षण गरी सुरक्षा सतर्कताको लागि आफैँ जाने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्