एमाले बैठकमा जाने वा नजाने टुंगो लगाउन माधव नेपाल परामर्शमा


काठमाडौं, १६ असार । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आन्तरिक परामर्श तिव्र पारेका छन् । आफूपक्षीय नेताहरुसँग उनले परामर्श गरेका हुन् ।

नेकपा एमालेको नवौं महाधिवेशनबाट निर्वाचित कमिटी ब्युँताउने र ८ स्थायी कमिटी सदस्य थप गर्ने अध्यक्ष केपी शर्मा ओलीको निर्णयपछि नेपाल आन्तरिक परामर्शमा व्यस्त भएका हुन् । १८ असारमा डाकिएको केन्द्रीय कमिटी बैठकमा जाने वा नजानेबारे टुंगो लगाउन नेपाल परामर्शमा लागेका हुन् ।

नेपाललाई बैठकमा जाने वा नजाने टुंगो लगाउन दबाब बढेको छ । उपाध्यक्ष बामदेव गौतमले उनीसँग यसबारे छलफल गर्ने बुझिएको छ । उनले दिउँसो देखि नेपालसँग सम्पर्क गर्न खोजेपनि हुन नसकेको बुझिएको छ ।

एमालेको पुरानै कमिटी ब्युँतिएपछि नेपाल अप्ठ्यारोमा परेका छन् । उनी ओलीलाई प्रधानमन्त्रीबाट हटाउन नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित चार दलको विपक्षी गठबन्धनमा छन् । प्रतिनिधि सभा विघटनविरुद्ध र देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने जिकिरसहित नेपाल खेमाका २३ सांसदसहित १४६ जनाको रिटमाथि संवैधानिक इजलासमा सुनुवाई जारी छ ।

प्रतिक्रिया दिनुहोस्