ओलीले बोलाएको बैठकमा नेपाल पक्ष सहभागी भएन


काठमाडौं- नेकपा (एमाले)को १०औं महाधिवेशन आयोजक कमिटीको ‘अन्तिम बैठक’ प्रधानमन्त्रीनिवास बालुवाटारमा बसिरहेको छ। तर, बैठकमा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष भने अनुपस्थित छ।

नेपाल पक्षका नेताहरुलाई पनि निम्तो पठाइएको भएपनि उनीहरू सहभागी भएका छैनन्। आजको बैठकलाई नेपाल समूहले अवैधानिक भनेको छ।

मंगलबार बालुवाटारमा बसेको एमाले स्थायी कमिटी बैठकले महाधिवेशन आयोजक कमिटी भंग गर्ने र २०७५ जेठ २ गते फर्किने निर्णय गरेको थियो।

आजको बैठकले एमालेलाई २०७५ जेठ २ को संरचनामा फर्काएको औपचारिक घोषणाको निर्णय गर्ने बताइएको छ। साथै, आजको बैठकले पुरानै संरचनाको केन्द्रीय कमिटी बैठक बोलाउने निर्णयसमेत गर्नेछ।

सर्वोच्च अदालतले समेत महाधिवेशन आयोजक कमिटीलाई वैधानिक निकाय मान्न नसकिने भन्दै उसले गरेका निर्णय उल्टाइदिएपछि अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली पक्ष तत्कालीन केन्द्रीय कमिटी नै ब्यूँताउन तयार भएको हो।

पार्टी एकताका विषयमा भइरहेका अनौपचारिक संवादमा नेपाल पक्ष सहमत भइसकेको छैन। यस्तो अवस्थामा बोलाइएको उक्त बैठकमा केही नेपाल पक्षीय केन्द्रीय सदस्यहरु सहभागी हुने अपेक्षा ओली पक्षको छ।

नेकपा विवादमा सर्वोच्च अदालतको फागुन २३ को फैसलापछि अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन आयोजक कमिटी गठन गरेका थिए। अध्यक्ष ओलीले एकपक्षीय रुपमा केन्द्रीय कमिटी भंग गरी विधानसमेत संशोधन गरेपछि माधव नेपाल समूहले चर्को असन्तुष्टि जनाउँदै आएको थियो।

प्रतिक्रिया दिनुहोस्