संवैधानिक इजलास : देउवालाई प्रधानमन्त्री बनाउन एमालेका नेताले गरेको हस्ताक्षर मान्य हुँदैन


प्रतिनिधिसभा विघटन विरुद्ध परेको रिटमाथि संवैधानिक इजलासमा मंगलबार जारी बहसमा नायब महान्यायाधिवक्ता पद्मप्रसाद पाण्डेय बहुदलीय व्यवस्थामा राजनीतिक दलहरूले दलीय व्यवस्था मान्दैनाैं भन्न नमिल्ने बताएका छन् ।

त्यस्तै उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन भनेर हस्ताक्षर गरिएका एमालेका सांसदको हस्ताक्षरले मान्यता नपाउने पनि उल्लेख गरेका छन् ।

आजको बहसमा प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन संसदमा जानुपर्ने होइन र भन्दै प्रश्न सोधेका छन् ।सरकारको पक्षबाट बहस गर्न आएका नायब महान्यायाधिवक्ता पदम प्रसाद पाण्डेयलाई जबराले सो प्रश्न सोधेका हुन् ।

आज महान्यायाधिवक्ता बडालसहित सरकारी पक्षबाट ११ जनाले बहस गर्दै छन् । अब १० जनाले बहस गर्न बाँकी छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा आज नायब महान्यायाधिवक्ता पद्मप्रसाद पाण्डेले दुई घण्टा बहस गर्नेछन् । उनले राष्ट्रपतिले दुवैको दावी अस्वीकार गर्न मिल्ने नमिल्ने सम्बन्धमा नेपालको संविधानमा भएका व्यवस्थाको विश्लेषण गर्नेछन् ।

साथै उनले नेपालको संविधानको धारा ७६ को सरकार गठनमा ह्विप लाग्ने नलाग्ने र फ्लोर क्रससम्बन्धी अन्य देशको व्यवस्थाको बारेमा व्याख्या गर्नेछन् । त्यसैगरी अर्का नायब महान्यायाधिवक्ता विश्वराज कोइरालाले राजनीतिक प्रश्न र न्याय निरुपणयोग्य मापदण्डको विषयमा २० मिनेट व्याख्या गर्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्