एमालेका सबै पदाधिकारी पुनर्वहाली हुने


काठमाडौं । नेकपा एमालेले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गर्ने भएको छ ।

सर्वोच्च अदालतले आयोजक कमिटीको कारवाहीलाई मान्यता नदिएको र पार्टीलाई २०७५ जेठ २ मा फर्काउन माधव नेपाल पक्षले माग राखेको सन्दर्भमा केन्द्रीय कमिटीको बैठक आह्वान गर्न लागिएको हो ।

बुधवार बस्ने महाधिवेशन आयोजक कमिटी बैठकले सम्भवतः बिहीबार केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गर्ने महासचिव ईश्वर पोखरेलले जानकारी दिए । केन्द्रीय कमिटी बैठक बोलाइएसँगै नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरु स्वतः पुनर्वहाली हुने एमाले स्रोतले जनाएको छ ।

महाधिवेशन आयोजक कमिटीका एजेण्डा तय गर्न र राष्ट्रिय प्रतिनिधि परिषद सदस्यहरूको बारेमा टुंगो लगाउन एमाले स्थायी कमिटी बैठक आज साँझ बोलाइएको छ ।

एमाले स्रोतका अनुसार महाधिवेशन आयोजक कमिटीको बैठकमा माधव नेपालसहित यसअघि निष्काशनमा परेका नेताहरुलाई बोलाइने छैन । तर माधव नेपाल पक्षका अन्य नेता पनि आयोजक कमिटी बैठकमा नजाने भएका छन् ।

आयोजक कमिटी भंग भएपछि बस्ने केन्द्रीय कमिटी बैठकमा भने माधव नेपाल बरिष्ठ नेताकै हैसियतमा सहभागी हुन सक्ने एमालेले जनाएको छ । त्यस्तै अन्य पदाधिकारीहरुको पनि यथावत जिम्मेवारी हुनेछ । यसअघि अध्यक्ष र महासचिवबाहेक अन्य पदाधिकारी खारेज गरेर आयोजक कमिटी गठन भएको थियो ।

माधव पक्षधर दोस्रो तहका नेताहरूसँगको अनौपचारिक छलफलपछि नै केन्द्रीय कमिटी बैठक बोलाउन लागिएको र २०७५ जेठ ३ गतेसम्म जो जुन पदमा थिए सोही पदीय हैसियतमा बैठकमा सहभागी हुने एक नेताले बताए । केन्द्रीय कमिटी व्युँतिएसँगै नेपालसहित ११ जनामाथिको निष्काशनको कारवाही पनि स्वतः निष्क्रिय हुनेछ ।

ती नेताले भने, ‘अदालतले पनि महाधिवेशन आयोजक कमिटीको कारवाहीमाथि प्रश्न उठायो । यता पार्टी मिल्नका लागि पनि जेठ २ कै केन्द्रीय कमिटीको माग गरिएको छ । त्यसैले अब केन्द्रीय कमिटी बैठक आह्वान हुन्छ,हिजा जो जुन पदमा थिए सोही हैसियतमा आउने हो । को को आउछन् हेरौं ।’

एमालेको केन्द्रीय कमिटी भने २ सय ६४ सदस्यीय नै कायम हुने भएको छ । २०७५ जेठ ३ गते बसेको एमालेको अन्तिम केन्द्रीय कमिटी बैठकले माओवादीसँग एकीकरण गर्नु पूर्व ४१ जना केन्द्रीय सदस्य मनोनित गरेको थियो ।

ती केन्द्रीय सदस्यसहित एमालेका २ सय ४१ सदस्य र माओवादीको दुई सदस्य गरेर नेकपाको ४ सय ४१ सदस्यीय केन्द्रीय कमिटी बनेको थियो । एमालेकै अन्तिम बैठकले थपेका सदस्य तथा सर्वोच्च अदालतको फैसलाबाट नेकपा भंग भएपछि एकताको भावनाअनुसार एमालेमा समाहित भएका २३ जनासहितको केन्द्रीय कमिटी बैठक बस्ने बताइएको छ ।

माधव नेपाल पक्षले जेठ २ अघिकै केन्द्रीय कमिटी बैठक बसेर त्यसपछि अरुलाई थप्न सकिने बताउँदै आएको छ । तर अहिलेको एमाले तीन वर्षअघिको नभई एकतासहितको एमाले भएकाले अव्यहारिक र कसैलाई अपमानित हुने व्यवहार गर्नु नहुने संस्थापन पक्षका नेताहरूको भनाइ छ ।

महासचिव पोखरेलले भने, ‘अदालतले नेकपाको नाम खारेज गरेपछि हामी प्राविधिक रुपमा एमाले भयौं । तर त्यसअघि नै एकतामा जोडिएका साथीहरु हामीसँग हुनुहुन्छ र यो नेकपा एमाले भनेको २०७५ जेठ ३ पछि एकीकृत भएको पार्टीकै निरन्तरता हो । त्यसैले जेठ २ सम्म जो जुन पदमा थिए उहाँहरु आउँदा त्यो पद यथावत नै हुन्छ र एकतामा जोडिएका साथीहरु पनि बस्नुहुन्छ ।’

केन्द्रीय कमिटीबाहेक तल्ला कमिटीहरू र जनवर्गीय संगठनहरुको हकमा पनि आमरुपमा पहिलेकै कमिटीहरू क्रियाशील गराउन सकिनेबारे स्थायी कमिटीमा छलफल भइरहेको छ । त्यसका लागि महासचिवको संयोजकत्वमा कार्यदल बनाउने प्रस्ताव गर्न लागिएको छ ।

पार्टीका कमिटीलाई जेठ २ मा फर्काउने प्रस्ताव पनि शुरुमा महासचिव पोखरेलले नै स्थायी कमिटीको जेठ २८ को अनौपचारिक बैठकमा राखेका थिए । जेठ २ मा फर्काएर बोलाएको बैठकमा पनि नआए माधव नेपाल पक्षलाई नपर्खी अघि बढ्ने तयारी एमालेको छ ।

जेठ २ मा फर्किएपछि एमालेको पदाधिकारी र स्थायी कमिटीमा दुवै पक्षको हाराहारी शक्ति हुनेछ । वरिष्ठ नेताहरू माधव नेपाल,झलनाथ खनालको पद पनि यथावत हुनेछ । अहिले दुवैजना निष्काशनमा छन् ।

प्रतिक्रिया दिनुहोस्