प्रचण्डको ठोकुवा : देउवाकै नेतृत्वमा सरकार गठन गर्न परमादेश जारी हुन्छ


काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तामा टिकिरहनका लागि अझै पनि षड्यन्त्रका गोटी चाल्न सक्ने खतरा कायमै रहेको बताएका छन् । सोमबार विपक्षी गठबन्धनले विभिन्न पेशागत बुद्धिजिवीहरुसँग गरेको अन्तरक्रियामा बोल्दै दाहालले यस्तो बताएका हुन् । उनले अदालतको निर्णयमाथि प्रभाव पार्ने षडयन्त्रमा प्रधानमन्त्री ओली लागेको बताए । उनले सत्ताकेन्द्रीत भएर नेपाली राजनीतिमा ठूलो चलखेल भएको गन्ध आफूले पाएको दाबी पनि गरे ।

प्रधानमन्त्री ओली इतिहासमा नै सबैभन्दा कलंकित र बद्नाम भएको तथा राजनीतिक भविश्य नै ओरालो लागिसकेकाले अन्तिम समयसम्म पनि षड्यन्त्रका गोटीहरु चाल्न सक्ने खतरा रहेको अध्यक्ष प्रचण्डले दोहोर्याए । प्रधानमन्त्री ओलीले अदालतलाई धम्क्याउने, तर्साउने र कुनै न कुनै रुपले दबाबमा पारेर, खैजेडीमा पारेर निर्णयमाथि प्रभाव पार्ने खुल्ला षड्यन्त्र गरेको उनको भनाई थियो । प्रधानमन्त्री ओलीले हारेको अनुभुत आफूले गरेको भन्दै उनले नेपालको इतिहासमा प्रधानमन्त्री ओली सबैभन्दा कलंकित र बेइमान भएर जाने दाबी गरे ।

उनले भने, ‘केपीजी अब सिद्दिनुभयो र नेपालको इतिहासमा सबैभन्दा कलंकित र बदनाम प्रधानमन्त्रीको रुपमा, सबभन्दा निरंकुशको पनि तुच्छस्तरको निरंकुश, झुठ, बेइमानबाहेक केहि नजान्ने निरंकुशको रुपमा नेपाली इतिहासमा बदनाम भएर जाने हुनुभयो । मलाई त कहिलेकाहीँ केपीजीलाई यसो सम्झिदाखेरी पनि कठै विचरा भन्नपनि मन लाग्छ । त्यत्रो वर्ष दुख ग¥या हो । चौध वर्ष जेल पनि बस्या हो, हुँदो रहेनछ नि त दृष्टिकोण र प्रवृत्ति नभएपछि त जेल बसेर पनि के हुँदो रहेछ र रु त्यसकारण उहाँ चाहीँ ओरालो लागेकै रुपले बुझ्छु । अझै षड्यन्त्रका केही गोटीहरु चाल्नको लागि उहाँ जुनसुकै हदमा जाने खतरा पनि छ ।’

दाहालले ढिलै भएपनि प्रतिनिधिसभा पुर्नस्थापना हुने र सर्वोच्च अदालतले शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गर्ने दाबी गरे । तथ्य, तर्क र प्रमाणले पुर्नस्थापना हुने कुरामा आशंका गर्ने ठाउँ नभएको उनको भनाई थियो । यद्धपी संसद पुर्नस्थापना नै भएपनि ठुलो खेल चलिराखेको गन्ध आफुले पाएको उनको भनाई छ । पुर्नस्थापनाले मात्रै समस्याको समाधान नहुने भन्दै अध्यक्ष प्रचण्डले पुर्नस्थापित संसद संसद नहुनुभन्दा पनि नराम्रो स्थितिमा हुने आशंका समेत व्यक्त गरे ।

उनले भने– ‘आज पनि म भन्छु संसद पुर्नस्थापना हुन्छ । त्यतिमात्रै होइन, शेरबहादुर जीकै नेतृत्वमा सरकार गठन गर्न परमादेश जारी पनि हुन्छ भनेर म भन्छु । अदालतले गर्छ किनकी संविधानको व्यवस्था अनुसार हाम्रो परम्परा र नजीर अनुसार त्यसो नहुनुपर्ने कारण नै छैन । संसद त पुर्नस्थापना हुन्छ । सबै तथ्य, तर्क, प्रमाण, नजिर सबै हेर्दा संसद पुर्नस्थापना हुने कुरामा आशंका गर्ने ठाउँ त छैन । तर म अझै विश्वस्त हुन सक्या छैन । अझै पनि एउटा खेल अलि ठुलै चलिराखेको पनि गन्ध आउँछ मलाई । अझैपनि पुर्नस्थपना नै गरेपनि त्यो पुर्नस्थापना, पुर्नस्थापना नहुनुभन्दा पनि रद्दी हुनपनि सक्छ । पुर्नस्थापनाले मात्रै समस्याको हल नहुनपनि सक्छ । त्यसो भएको हुनाले हामीले सर्तकता अलिकतिपनि छुटाउनुहुने, या भैहाल्छ पुर्नस्थापना, सरकार त बनिहाल्छ भनेर ढुक्क हुने स्थिति बनिसकेको जस्तो मलाई फिलिङ छैन ।’

प्रतिक्रिया दिनुहोस्