के माधवकुमार नेपाल एमालेमा रहने सम्भावना टाढिँदै गएको हो? प्रवक्ता ज्ञवाली यसो भन्छन्


नेकपा (एमाले) को स्थायी समितिको बैठकमा पार्टीलाई एक राखेर मात्र लोकतन्त्र र संविधानको रक्षा गर्न सकिन्छ भन्ने निष्कर्ष निकालिए पनि ‘कतिपय नेताहरूका व्यवहारहरू एकतासँग ठ्याम्मै मिल्ने खालका नरहेको’ पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले बताएका छन्।

आइतवार बिहान बसेको पार्टी स्थायी समितिको बैठकपछि बोल्ने क्रममा पत्रकारहरूले माधवकुमार नेपाल एमालेमा कायम रहने सम्भावना टाढिँदै गएको देखिएको भन्ने जिज्ञासा राखेका थिए।

जसलाई प्रवक्ता ज्ञवालीले नकारेनन्, तर आफूहरूले ‘आशा नमारेको’ बताए।

उनको भनाइ थियो, “एमालेलाई थप कमजोर गर्ने, विभाजित गर्ने, वर्तमान सरकारलाई जसरी पनि विस्थापित गर्ने र प्रतिपक्षलाई काँधमा राखेर उनीहरूलाई श्रेष्ठ देखाउने गम्भीर विरोधाभासहरू भएका छन्।”

शनिवार विपक्षी गठबन्धनका नेताहरूसहित संसद् भवनमा आयोजित पत्रकार सम्मेलनमा बोल्ने क्रममा नेता माधवकुमार नेपालले आफूलाई ‘प्रधानमन्त्रीको अफर आइसकेको’ बताएका थिए।

तर उनले शेरबहादुर देउवाको पक्षमा गरिएका ‘हस्ताक्षर फिर्ता लिने र विपक्षी गठबन्धनलाई धोका दिने कुनै सम्भावना नरहेको’ बताएका थिए।
आइतवार प्रवक्ता ज्ञवालीले भने, “एकता भनेको जोसँग जे पनि गर्न पाउने हो र?”

उनले नेपाल पक्षका गतिविधि लक्षित गर्दै ‘ती केही नेताका चाहना हुनसक्ने तर जनताका चाहनासँग मेल नखाइरहेको’ बताए।

प्रतिक्रिया दिनुहोस्