राष्ट्रपतिले के आधारमा माधव नेपालहरुको दोहोरो समर्थन देखियो भन्नुभयो ?


काठमाडौं । वरिष्ठ अधिवक्ता हरिहर दाहालले धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्त गर्ने आधार नदेखिएको भन्ने राष्ट्रपतिको निर्णय गलत भएको जिकिर गरेका छन् ।

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा संवैधानिक इजलासमा बहस गर्दै दाहालले माधव नेपाल र जसपाका सांसदहरुको दोहोरो समर्थन देखिएको भन्ने राष्ट्रपतिको ठहर नै गलत भएको बताएका हुन ।

“के माधव नेपालजीहरुले केपी ओलीलाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका थिए त रु समर्थन नै नपाएकोले छ भनेर भन्यो भन्दैमा दोहोरो पर्‍यो भन्ने हुन्छ ?’ उनले भने ।

वरिष्ठ अधिवक्ता दाहालले धारा ७६ (५) संसदको रक्षाकवच भएको बताए । दलीय समर्थन र एकल बहुमतको आधारमा सरकार बन्न नसकेको अवस्थामा संसद जोगाउन धारा ७६ (५) को व्यवस्था राखिएको उनको भनाइ छ ।

वरिष्ठ अधिवक्ता राष्ट्रपतिले गरेको निर्णयबारे अदालतमा प्रश्न उठाउन पाइने बताएका छन् । संवैधानिक सर्वोच्चता भएको मुलुकमा राष्ट्रपति पनि संविधान अन्तर्गत नै हुने भन्दै उनले प्रधानमन्त्रीले गरेका असंवैधानिक कामलाई साथ दिने राष्ट्रपतिमाथि प्रश्न उठाउन पाइने बताएका छन् । ‘संविधानको रक्षक र पालक राष्ट्रपति हो । अब राष्ट्रपतिले प्रधानमन्त्रीले जे जे असंवैधानिक काम गरे पनि लालमोहर लगाइरहने ?’ उनले प्रश्न गरे ।

वरिष्ठ अधिवक्ता दाहालले संविधानको धारा ७६ (५) अनुसारको प्रधानमन्त्रीमा देउवालाई ककसले समर्थन गरेको छ भनेर प्रधानमन्त्री कार्यालय र जनता समाजवादी पार्टीका नेताहरुले कसरी थाहा पाए भनी प्रश्न गरे ।

‘अनि देउवाको समर्थनमा क कसले हस्ताक्षर गरेको भनेर बालुवाटारले कसरी थाहा पायो ? महन्थ ठाकुर र राजेन्द्र महतोले कसरी थाहा पाए ? राजेन्द्र महतो र महन्थ ठाकुरको पत्र कसरी गयो ? तपाईंको बारेमा यसरी आयो भनेर कसले भन्यो ?’ उनले प्रश्न गरे ।

प्रतिक्रिया दिनुहोस्