कामचलाउ प्रधानमन्त्री राजिनामा देउ: नेबिसंघ महामन्त्री तिमल्सिना


काठमाडौं, ९ असार । नेपाल विद्यार्थी संघका महामन्त्री बलदेव तिमल्सिनाले कामचलाउ प्रधानमन्त्री ओलीले तुरुन्त प्रतिनिधि सभा विघटनको निर्णय फिर्ता लिएर राजीनामा दिएर अर्को सरकार बनाउने बाटो खुला गर्नुपर्ने बताएका छन । आज एक बिज्ञप्ति जारी गर्दै तिमल्सिनाले सर्वोच्चको पछिल्लो आदेशानुसार अब प्रधानमन्त्री ओलीलाई पदमा बस्ने नैतिकता नभएको हुँदा तत्काल पदबाट हट्नुपर्ने बताएका हुन् ।

प्रधानमन्त्री ओलीको सरकारले गरेका प्रायः सबै निर्णय एकपछि अर्को गरी अदालतले रोक लगाउनुपर्ने अवस्थामा सरकार चलाउने नैतिकता गुमाइसकेको भन्दै संविधान र कानुनमा टेकेर काम गर्न नसक्दा यस्तो अवस्था आएको हुँदा संविधानको रक्षाका लागि पनि ओली पदमुक्त हुनुपर्ने उनको भनाई छ ।

तिमल्सिनाले विज्ञप्ति मार्फत यसैपनि विश्वासको मत गुमाएको प्रधानमन्त्रीले पूर्ण बजेट ल्याउने, अध्यादेश मार्फत शासन सञ्चालन गर्ने शैली विश्वका कुनै पनि लोकतान्त्रिक मुलुकमा नभएको र यस्तो छाडा प्रधानमन्त्री र सरकार लाई सर्बोच्च अदालतले संविधान र कानुन सम्झाएको पनि उल्लेख गराएका छन् ।

संविधान र कानुन अनुसार शासन चलाउनुको सट्टा संविधान र कानुनको बर्खिलापमा गएको सरकारको गैरकानुनी क्रियाकलापको विरुद्ध सर्वोच्चले उपयुक्त आदेश आएको महामन्त्री तिमल्सिनाले बताएका छन्

प्रतिक्रिया दिनुहोस्