माओवादी केन्द्रले गर्यो एमाले प्रवेश गरेका १४ जना जनप्रतिनिधिलाई कारबाही


काठमाडौं, ७ असार । माओवादी केन्द्रले एमाले प्रवेश गरेका १४ जना स्थानीय तहका जनप्रतिनिधिलाई कारबाही गरेको छ ।

तत्कालीन माओवादीबाट निर्वाचित भएका तर, पछिल्लो समय एमालेमा प्रवेश गरेका उनीहरूलाई सोमबार बसेको केन्द्रीय समिति बैठकले कारबाही गरेको हो ।

माओवादीको केन्द्रीय समिति बैठक भर्चुअल रुपमा भएको थियो । बैठकले रौतहटको मौलापुर नगरपालिका प्रमुख रिना कुमारी साह, रौतहटकै कटहरिया नगरपालिका प्रमुख सियाराम कुशवाहालाई कारबाही पर्दै माओवादीबाट निष्कासन गरेको छ ।

रौतहटको देवाही गोनाही नगरपालिका उपप्रमुख परिनया देवी, मौलापुर नगरपालिका उपप्रमुख गौरीशंकरप्रसाद जयसवाल, फतुवा विजयपुर नगरपालिका उपप्रमुख कान्ति देवी, माधवनारायण नगरपालिका उपप्रमुख सिमल साहलाई पनि कारबाही गरिएको केन्द्रीय सदस्य रापदीप आचार्यले बताए ।

यमुनामाई गाउँपालिका उपाध्यक्ष गीतादेवी साह, सिरहाको लहान नगरपालिकाको कार्यपालिका सदस्य समतीलाल दास तातीलाई पनि कारबाही गरिएको छ । उनीहरु सबै माओवादीमा नरहेको जानकारी निवार्चन आयोगलाई दिने तयारी भएको केन्द्रीय सदस्य आचार्यले बताए ।

त्यसैगरी माओवादी केन्द्रले केन्द्रीय समितिमा ९९ सदस्य थप्ने तयारी गरेको छ । ४० वर्षमुनिका युवालाई प्राथमिकता दिएर नयाँ केन्द्रीय सदस्यहरु थप्ने माओवादीको तयारी छ ।

केन्द्रीय सदस्य थपिँदा महिलालाई ३५ प्रतिशत र दलितलाई १५ प्रतिशत कोटा छुट्याइएको छ । कार्यदलका अर्का सदस्य जनार्दन शर्माले २० प्रतिशत युवालाई केन्द्रीय समितिमा स्थान दिन सुझाव दिइएको बताए ।

सुझाव संकलन कार्यदलले समावेशी सिद्धान्तको आधारमा प्रस्तावित केन्द्रीय सदस्यहरुको नामावली पठाउन प्रदेश र जिल्ला कमिटीलाई निर्देशन दिएको थियो । कार्यदलमा वर्षमान पुन, जनार्दन शर्मा, देवेन्द्र पौडेल, मातृका यादव, गिरिराजमणि पोखरेल र पम्फा भुसाल छन् ।

प्रतिक्रिया दिनुहोस्