देउवा भन्छन्, फेरि सभापतिमा उठ्छु, निधिले भने ‘मलाई सघाउनुस्’


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी भदौमा हुने १४औं महाधिवेशनमा फेरि एकपटक आफू सभापतिमा उठ्ने बताएका छन् ।

सभापति देउवाले शनिबार प्रदेश १ र प्रदेश २ का आफूनिकट नेताहरूलाई बूढानीलकण्ठस्थित निवासमा बोलाएर महाधिवेशनमा आफ्नो उम्मेदवारीबारे मुख खोलेका हुन् ।

सो क्रममा देउवाले महाधिवेशन निर्धारित मितिमा नै हुने र आफू पार्टीको नेतृत्वका लागि सभापतिमा एकपटक पुनः उठ्ने बताए ।

‘पार्टीको महाधिवेशन अब तोकिएकै मितिमा हुन्छ, यसमा कुनै दुई मत छैन, म सभापतिमा उठ्छु, आउने चुनावमा पार्टीलाई पहिलो बनाउने चुनौती छ, सबैले सहयोग गर्नेगरी वातावरण बनाउनुस्,’ देउवाले राखेको धारणाबारे जानकारी दिँदै केन्द्रीय सदस्य मीन विश्वकर्माले राजधानीसँग भने ।

बिहान प्रदेश १ का नेताहरूलाई भेटेका देउवाले दिउँसो भने उपसभापति विमलेन्द्र निधिसहितका नेताहरूसँग पनि छलफल गरेका थिए ।

सो छलफलमा समेत देउवाले आफू महाधिवेशनमा सभापतिका लागि भिड्ने बताएका थिए । देउवाको सो भनाइपछि उपसभापति निधिले पनि सभापतिमा आफू पनि उठ्ने जानकारी देउवालाई गराएका थिए ।

‘यसपटक मलाई सभापतिमा सघाउनुस्, तपाईं प्रधानमन्त्री बन्नूस्, मैले पहिले पनि भन्दै आएको छु, तपाईंकै समर्थनमा म लड्छु,’ निधिले सभापति देउवालाई आग्रह गर्दै भनेका थिए ।

सो क्रममा देउवाले भने निधिको प्रस्तावलाई सहज रूपमा लिएका थिएनन् । देउवाले निधिलाई ‘उठ्ने भए ठिकै छ, उठ्नुस्’ भन्ने आसय दिएको छलफलमा सहभागी एक नेताले जानकारी दिए । सो छलफलमा नेता आनन्द ढुंगाना, जंगीलाल रायसहितका नेता सहभागी थिए ।

कांग्रेसले शुक्रबार मात्र पार्टीको १४औं महाधिवेशनको संशोधित कार्यतालिकालाई केन्द्रीय समिति बैठकमार्फत अनुमोदन गरेको थियो ।

जसअनुसार गाउँ/नगर वडा अधिवेशन १२ साउन, गाउँ÷नगरपालिका अधिवेशन १६ साउन, प्रदेश सभा क्षेत्रीय अधिवेशन २० साउन, प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन÷एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन २३ साउन, एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन २६ साउन र प्रदेश अधिवेशन १ र २ भदौमा हुनेछ । यस्तै केन्द्रीय महाधिवेशन १६ देखि १९ भदौसम्म हुने तय भएको छ । यो समाचार राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्