भीम आचार्य देखि अष्टलक्ष्मीसम्मका नेताहरु एकताका पक्षमा, माधव नेपालको योजना असफल हुँदै
काठमाडौं– नयाँ पार्टी बनाउन खुट्टा उचाल्नुभएका एमाले नेता माधवकुमार नेपालका लागि समय क्रमशः प्रतिकूल हुँदै गइरहेको छ ।
आफूपक्षधर स्थायी र केन्द्रीय कमिटी बैठकमा स्पष्टरुपमा नयाँ पार्टी बनाउने उदघोष गर्नुभएका नेपाललाई आफ्नै समूहका नेताहरुले असहयोग गर्न थालेका छन् । वरिष्ठ नेता झलनाथ खनालले उपचारका लागि नयाँ दिल्ली जानुअघि जारी गर्नुभएको बक्तव्यदेखि प्रदेश १, बागमती, गण्डकी र कर्णाली प्रदेशमा भएको एकताले नेपालको योजना असफल हुँदै गएको छ ।
नेपाल समूहमा रहेका झलनाथ खनाल, सुरेन्द्र पाण्डे, घनश्याम भूसाल, योगेश भट्टराई, गोकर्ण विष्ट, भीम आचार्यदेखि प्रदेश तहका नेताहरु पनि एकताको पक्षमा उभिनुभएको छ ।
पार्टी अन्तर्संघर्षमा साथ दिए पनि नेपाल समूहका स्थायी कमिटी सदस्यहरु योगेश भट्टराई र गोकर्ण विष्टले अलग पार्टी निर्माणमा सहयोग गर्न नसकिने सार्वजनिक जनाउ दिइसक्नुभएको छ । भट्टराईले माधवकुमार नेपालले बदलीय परिस्थितिमा पनि शेरबहादुर देउवाको निवास वुढानिलकण्ठ तर्फको मोह छाड्न नसके आफू लगायत धेरै साथीले उहाँको साथ छाड्ने बताउनुभयो । बदलीदो परिस्थितिमा पनि उहाँले सकारात्मक दिशा नसमाते पछि नलाग्ने स्पष्ट पार्नुभयो । चित्त नबुझ्दा नबुझ्दै माधव नेपालले नयाँ पर्टी खोल्नुभयो भने पनि त्यसमा नलाग्ने भट्टर्राको भनाइ छ ।
उहाँले नेकपा एमाले जेठ २ को अवस्थाबाट अघि बढ्नुपर्ने र प्रतिनिधिसभा पुनर्स्थापना भए एमाले चाँडै नै एकढिक्का भएर अघि बढ्ने बताउनुभयो ।
एमालेमा २०७५ जेठ २ मा फर्किने विषयमा मौखिक सहमति जुटेको छ । अनौपचारिक वार्तामा संस्थापन र माधव नेपाल पक्षका नेताबीच भएको निरन्तर संवाद सहमति नजिक पुगेकाबेला एमाले अध्यक्ष केपी शर्मा ओलीसँग असन्तुष्ट अष्टलक्ष्मी शाक्य एकताको पक्षमा उभिनुभएको छ । ‘अब जेठ २ मा फर्किनै पर्छ । अदालतको कुरा पनि त्यस्तै आयो । केपी कमरेडको जेठ ३ अघि फर्किने भन्ने कुरा पनि छ। तर अदालतले एक खालको वातावरण हामीलाई बनाइदियो । अब जेठ २ मा फर्किँदा कोही झुक्नुपर्ने भन्ने नै रहेन । कोही झुक्यो, कोही तल पर्यो, कोही माथि पर्यो भन्ने कुरा अब आउँदैन, किनकी यो अदालतको कुरा भयो । यो हाम्रो लागि एमाले मिलाउने मौका पनि हो,’ शाक्यले एक अनलाइनमा भन्नुभएको छ, ‘सर्वोच्च अदालतको आदेशले एमाले ब्युँतियो, अब अदालतकै पछिल्लो आदेशलाई टेकेर जेठ २ मा फर्किने वातावरण बनेको छ । त्यसपछि के(के गरेर जाने भनेर साझा प्रस्ताव तयार पार्नका लागि केपी कमरेड र माधव कमरेड बस्नुपर्छ । अब त नेता उहाँहरू नै हो ।’
नेपाल पक्षीय नेता भीम आचार्यले २०७५ जेठ २ मा सबै संरचना जाने विषयमा मौखिक सहमति जुटेको बताउनुभयो । उहाँले सहमति टिक्ने नटिक्नेमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको इमानदारीमा निर्भर रहने बताउनुभयो । उहाँले सर्त राख्ने कुराले पनि निष्कर्षमा पुग्न केही ढिलाइ भइरहेको जानकारी दिनुभयो ।
माधव नेपाल पक्षमा रहेका भीम आचार्य, प्रकाश ज्वाला, इन्द्रलाल सापकोटादेखि अष्टलक्ष्मीसम्मका नेताहरु एकताका पक्षमा रहँदा भीम रावल, रामकुमारी झाँक्रीलगायतका केही नेता भने अझै फरक पार्टीको अभ्यास र अभियानमा क्रियाशील हुनुहुन्छ ।-नेपाल बहस