सबैभन्दा मुर्ख मुख्यमन्त्री मै हुँ : पृथ्वीसुव्वा गुरूङ


पोखरा । गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले प्रदेशमा सबैभन्दा मुर्ख मुख्यमन्त्री आफू भएको इंगित गरेका छन् ।

नवनियुक्ति मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शुक्रबार प्रदेशमा विश्वासका मत लिन गरेको प्रस्तावको विषयमा छलफलमा जुट्दै प्रमुख प्रतिपक्षी दलको हैसियतमा बोल्दै निवर्तमान मुख्यमन्त्री गुरुङले सो कुरा बताएका हुन् ।

प्रदेशमा ७ बटा बढाएर ११ वटासम्म मन्त्रालय बिस्तार गरेकोमा तत्कालीन विपक्षी दलबाट टीकाटिप्पणी खेपेको स्मरण गर्दै उनले अहिले भने आफ्नो कार्यबाट पोखरेल नेतृत्वको सरकारलाई सजिलो भएका बताए । उनले भने, ‘प्रदेशमा सबैभन्दा मुर्ख मुख्यमन्त्री मै हुँ । मैले चाहेको भए जाँदाजाँदै एउटै निर्णयले मन्त्रालय संख्या घटाउन सक्थेँ तर त्यसो गरिनँ । त्यो भनेको मेरो निष्ठा हो ।’

उनले आफ्नो कार्यकालका कोरिएका रोडम्याप भोलिका दिनमा कार्यान्वयन भए प्रमुख प्रतिपक्षी दलको हैशियतले सहयोग र समर्थन हुन सक्ने बताए । तर अहिले नै पोखरेल सरकारलाई विश्वासको मत दिने बेला नभएको स्पष्ट पनि पारे । ‘निष्ठा, आदर्श र सिद्धान्तलाई भत्काएर गरिने यात्रा, जहिले पनि भत्किन सक्छ,’ उनले भने, ‘स्ट्रक्चर बदलियो तर हाम्रो व्यवहार बदलिएन ।’

४० महिना अवधिमा पछिल्लो डेढ वर्षमा मात्र भौतिक पूर्वाधारका काममा अघि बढेको बताउँदै उनले गण्डकी प्रदेशको भवन, तालिम प्रतिष्ठानको भवन बनाउन आफ्नो सरकारको उद्देश्य पूरा गर्न अहिलेको सरकारले निरन्तरता दिनुपर्ने बताए । उनले भने, ‘अहिलेको अवस्थासम्म आउन पनि केन्द्रसँग लामो लडाइ गरेर स्थापना गरेका हौं । कानुन नबन्दा, स्रोत र भौतिक पूर्वाधार नहुँदा गाह्रो थियो । अहिलेको अवस्था त्यत्तिकै आएको होइन ।’

उनले गण्डकी प्रदेशलाई समृद्धि बनाउने, सुखी नेपाली बनाउने र संघीय लोकतान्त्रिक गणतन्त्र बलियो बनाउने रोडम्यापमा आफ्नो दल सधैँ प्रतिबद्ध रहेको बताए । जातीय अहंकारको कुरा बेलाबखतमा आइरहन्छन् भन्दै उनले जातीय सद्भाव कायम गर्न आफूले नै पहल गरी ‘गण्डकी’ नामकरण गरेको उनको दाबी थियो ।

आप्नो सरकारले निरन्तरता पाएको भए चालू आवको पुँजीगत खर्च ९५ प्रतिशत कटाउने उनको दाबी थियो । उनले उठेर करायो भने बल्ल सुनिने प्रसंग उल्लेख गर्दै केन्द्रमा देउवा, केपी, प्रचण्ड, माधव, बाबुराम, उपेन्द्र प्रधानमन्त्री जो भए पनि नियति त्यही हो, भने ।

नेकपा एमालेका नेता तत्कालीन मुख्यमन्त्री गुरुङले विश्वासको मत गुमाउँदा काँग्रेस नेतृत्वमा २९ जेठमा पोखरेल सरकार आएको हो ।

प्रतिक्रिया दिनुहोस्