बेपत्ता सात जना सकुशल फेला


भैँसी, गाई र बाख्रा लिएर चरिचरन क्षेत्र जलजला पाटनमा गएर बेपत्ता सात जना भेटिएको प्रहरीले जनाएको छ । प्रहरी र स्थानीयवासीले उनीहरुलाई भेटाएको प्रहरी नायब उपरीक्षक मधुकुमार थापाले बताउनुभयो ।

भेडा, बाख्रा, गाईभैंसी पाटन छाड्न गएका उनीहरु ठूलो हावाहुरी पानीका कारण सम्पर्कविहीन भएका थिए ।

कुशे ८, औलरिजाका ३५ वर्षीय डिलबहादुर खड्का, २५ वर्षीय विक्रम खड्का, २८ वर्षीया चन्द्रा खड्का, १८ वर्षीय भविन्द्र खड्का, १२ वर्षीय मीमबहादुर खड्का, १० वर्षीया धनसरा खड्का र कुशे ९ का ४० वर्षीय कृष्ण रोकाय बेपत्ता भएका थिए । आज बिहान मात्र भटिएको प्रनाउ थापाले बताउनुभयो । खाना नखाएका र चिसोका कारण कमजोर अवस्थामा भेटिएका उनीहरुलाई प्राथमिक उपचार गरी अहिले खाना खुवाउने काम भएको उहाँले बताउनुभयो ।

पाटनमा हराएकाको हवाई उद्धारका लागि जिल्ला प्रशासन कार्यालय जाजरकोटले गृह मन्त्रालयलाई बिहीबार अनुरोध गरेको थियो । हेलिकप्टरद्वारा खोजी गर्न तयारी गरिरहेका बेला उनीहरूलाई पैदल नै गएको प्रहरी टोलीले उद्धार गरेको हो ।

प्रतिक्रिया दिनुहोस्