कांग्रेसका एकमात्र मुख्यमन्त्री पोखरेलले आज विश्वासको मत लिँदै


पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज शुक्रबार प्रदेशसभामा विश्वासको मत लिंदैछन् । नेपाली सेनाको हेलिकप्टर चढेर बिहीबार मनाङको बाढी पहिरो प्रभावित क्षेत्रमा पुगेका गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल शुक्रबार बिहान पोखरा फर्किएका छन् ।

स्रोतका अनुसार विश्वासको मत लिन प्रदेशसभाको बैठक बिहान ११ बजे बोलाइएको छ । मनाङ घर भएका मन्त्री दीपक मनाङे, सांसद चिन्त घलेसँगै राहत सामाग्रीसहित स्थलगत निरिक्षणका लागि पुगेका मुख्यन्त्री पोखरेल हेलिकप्टर उड्न नसक्दा बिहीबार उतै रोकिएका थिए ।

मुख्यमन्त्री चढेर मनाङ पुगेको सेनाको हेलिकप्टर उद्धारमा लागि मनाङमै रोकिएपछि मुख्यमन्त्री अर्को हेलिकप्टर मगाएर फर्किने योजनामा थिए । पोखराबाट गएको हेलिकप्टर मौसमका कारण ल्याण्ड गर्न नसकी बिहीबार पोखरा नै फर्किएको थियो ।

पोखरेल गत जेठ २९ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी ९जसपा० र राष्ट्रिय जनमोर्चाको संयुक्त गठबन्धन र स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेको समर्थनमा पोखरेल मुख्यमन्त्री बनेका हुन्।

मुख्यमन्त्री बनेकै दिन मन्त्रिपरिषद् गठन गरेका पोखरेलले हालसम्म मन्त्रीहरूको कार्य विभाजन गरेका छैनन्। मुख्यमन्त्रीसहित ५ सदस्यीय मन्त्री परिषद् गठन गरेका उनले आफूबाहेक अन्य सबै मन्त्रीलाई विनाविभागीयमा राखेका छन्।

अब उनले विश्वासको मत लिएपछि मात्र मन्त्रीहरूको कार्य विभाजन गर्ने तयारी गरेको स्रोतले बताएको छ। सरकारका प्रवक्ता तथा विनाविभागीय कुमार खड्काले भने, ‘अब विश्वासको मत लिएपछि मात्र विश्वासको मत लिने तयारी छ।’

प्रतिक्रिया दिनुहोस्