सरकारले लकडाउनलाई सत्ता जाेगाउने सुरक्षा कवच बनायाे


सरकारले लकडाउनलाई आफ्नो सत्ता जोगाउने सुरक्षा कवचका रूपमा प्रयोग गरेको भन्दै नेपाली कांग्रेसले विरोध जनाएको छ । बिहीवार नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकबारे जानकारी गराउँदै नेपाली कांगेसका नेता प्रकाशशरण महतले सरकारकै उदासिनता र अर्कमण्यताका कारण कोभिड–१९ को सङ्क्रमण फैलिएकाे र लकडाउन गर्नुपर्ने स्थिति आएको भन्दै लकडाउनलाई सरकारले सत्ता जोगाउने सुरक्षा कवचका रूपमा प्रयोग गरिरहेको बताउनुभयो ।

सरकारकाे याे व्यवहारकाे नेपाली कांग्रेसको बैठकले निन्दा गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘लकडाउनको अवस्थामा नागरिकहरू जति नै सरकारसँग असन्तष्ट भए पनि सडकमा निस्किन सक्ने अवस्था छैन, त्यसलाई उहाँहरूले आफ्नो सत्ता जोगाउने कवचको रूपमा लिइरहनु भाछ । उहाँहरूलाई विराेधमा काेही निस्किन सक्दैन र यसले हाम्राे सत्ता झन् सुरक्षित भयाे भन्ने छ ।’

बैठकमा कांग्रेसको केन्द्रीय महाधिवेशन भदौ १६ गतेदेखि १९ गतेसम्म गर्ने गरी प्रस्ताव पेस भएको छ भने पालिकाकाे महाधिवेशन साउन १२ गतेबाट गर्ने प्रस्ताव छ । यसबारे छलफल गरेर निष्कर्ष निकालिने नेता महतले बताउनुभयो ।

महाधिवेशनको सम्बन्धमा सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै नेपाली कांग्रेसका नेता रमेश लेखकले क्रियाशील सदस्यता विवादकै कारणले महाधिवेशन प्रभावित नहुने बताउनुभयो । उहाँले छिट्टै नै क्रियाशील सदस्यको सम्बन्धमा परेका उजुरीमाथि छलफल गरेर अन्तिम नामावली निकालिने जानकारी दिनुभयो ।

बैठकले सिन्धुपाल्चोकको बाढीको घटनामा दुःख प्रकट गर्दै तिनै तहको सरकारलाई पूर्ण प्राथमिकताका साथ उद्धार र राहतमा लाग्न भनेको छ ।

प्रतिक्रिया दिनुहोस्