दिल्ली उड्नु अघि नेता खनालको यस्तो आह्वान


काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनालले देशका प्रमुख दलहरु र तिनका नेताहरुविच अनावश्यक टकराव, महत्वकांक्षा र व्यक्तिगत इगो साध्ने कार्य यथाशीघ्र अन्त्य गरिनुपर्ने बताएका छन् ।

अस्वथ्य भइ थप उपचारका लागि दिल्ली जानुअघि नेता खनालले बुधबार विज्ञप्ति जारी गर्दै पार्टी एकतालाई जोड दिएका छन् । उनले भनेका छन्, ‘हामी सबै एकजुट भएर मुलुकका मुलभुत समस्याहरु हल गर्नु पर्दछ भन्ने कुरा म सबैलाई आग्रह गर्न चाहान्छु ।’

नेता खनालले आफ्नो स्वास्थ्यमा एकपछि अर्को समस्या आएको र डाक्टरहरुको सल्लाहमा आफू उपचारका लागि दिल्ली जान लागेको समेत जानकारी गराएका छन् । नेता खनाल आजै उपचारका लागि भारको दिल्ली जाँदैछन् ।

‘म आज केही दिनका लागि देश बाहिर जाँदैछु । मेरो स्वास्थ्य लाभको कामना गर्नुहुने सम्पुर्णमा आभार व्यक्त गर्न चाहान्छु । सफल उपचार पछि म स्वदेश फर्केर यहाँहरुमाझ पुनः हुनेछु भन्ने विश्वास लिएको छु’ उनले भनेका छन् ।

देशको विथोलिएको वर्तमान राजनैतिक अवस्थाले आफूलाई चिन्तित बनाएको भन्दै विज्ञप्तिमा भनेका छन्, ‘राजनैतिक दलहरु विवाद र ध्रुविकरणले विभाजन उन्मुख भएका छन् । त्यही अन्तर संघर्षको पराकम्पन हाम्रो तत्कालिन पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा पर्यो र अहिले नेकपा (एमाले) मा परिरहेको छ । राष्ट्रिय एकता–अखण्डता लोकतन्त्र र स्थायीत्वको खम्बाको रुपमा रहेका दलहरुभित्र यस्तो हुनु देश, जनता, लोकतन्त्र, विकास र समृद्धिका निम्ती दुर्भाग्यपुर्ण अवस्था हो ।’

नेकपा एमाले सयौँ सहिदहरुको वलिदान, हजारौं योद्धाहरुको रगत पसिना, कैयौँको प्रवास, जेल, भुमिगत जिवनको संघर्ष, त्याग र तपस्याको कारण सफलताको यो विन्दुसम्म आइपुगेको भन्दै नेता खनालले भनेका छन्, ‘तर त्यो जनताको चाहना र अपेक्षा विपरित हामिमा देखिएको अनेकौं गलत प्रवृत्तिहरु, बदलाको भाव र अनावश्यक ईगोका कारण पार्टी जिवनमा यतिखेर गम्भीर संकट उत्पन्न भएको छ । देश, लोकतन्त्र र पार्टीको यो अवस्थाले मलाई अत्यन्तै चिन्तित बनाएको छ । विगतमा हामि सबै मिलेर ठुलाठुला सफलताहरु प्राप्त गरेको स्मरण गरौं ।’

उनले एकता सफलताको बाटो हो भने फुट बिनासको हुने स्मरण गराउँदै पाटीलाई फुटबाट जोगाउन तथा एकताबद्ध पार्न सबै नेता कार्यकर्ताहरुलाई आह्वान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्