माधव नेपालले मिलनका लागि प्रधानमन्त्री ओली संग राखे नयाँ शर्त


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालबीच मिलनको सम्भावना अझै टरेको छैन । तर, मिलनका लागि नेपालले सुत्रहरुमार्फत् पार्टी अध्यक्ष या प्रधानमन्त्रीमध्ये कुनै एक छाड्नुपर्ने शर्त ओलीसम्म राखेको बुझिएको छ ।

ओलीले २ जेठ २०७५ को अवस्थाको पार्टी संगठनको संरचनालाई ब्युँताउने सहमति जनाइसकेपनि नेपालले नयाँ शर्त राखेका हुन् । अध्यक्ष या प्रधानमन्त्रीमध्ये एक पद छाडेमा मात्र कुरा मिल्ने शर्त राखेपछि एकताका लागि दौडिएकाहरु नै समस्यामा परेका छन् । उनीहरु दुवै नेतालाई लचिलो बनाउने गरी लागेका छन् ।

एमालेको नवौं महाधिवेशनको सांगठनिक संरचनामा फर्कन ओली तयार भएपनि नेपाल पक्षका २३ सांसदले प्रतिनिधि सभा विघटन र काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षरसहित दायर रिट फिर्ता लिनुपर्ने शर्त राखेका छन् । तर, नेपालले प्रतिनिधि सभा विघटनको सिफारिशबाट ओली फर्कनुपर्ने शर्त समेत राखेका छन् । दुवै खेमा शर्तहरु तेर्साएर बढिरहेको छ ।

नेपालले एमालेमा ओलीसँग बस्न नसिकिने निष्कर्ष निकालिसकेका छन् । उनले नयाँ दल खोल्ने खुलासा समेत गरिसकेका छन् । तर, नेपाललाई रोक्न सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण बिष्ट, योगेश भट्टराई, भीम आचार्यलगायत नेताहरु सक्रिय भएका छन् । उनीहरु अन्तिम समयसम्म एकता बचाइराख्न लागेका छन् ।

कुनै हालतमा ओलीको चुनौतीबाट पछि नहट्ने भन्दै माधव नेपालले ‘आयाराम गयाराम’ को उदाहरण दिइसकेका छन् । उनी जो जो जाओस् तर आफू अघि बढ्ने गरी लागेका छन् । नेकपाको एउटा पक्ष एमाले एकताका लागि नेपाललाई प्रधानमन्त्री या पार्टी अध्यक्ष बनाउने गरी लागेको छ । ओलीलाई प्रधानमन्त्रीबाट ब्याक गराएर नेपाललाई बनाउने, नेपाललाई अध्यक्ष बनाएर ओलीलाई २०७९ मंसिरसम्म प्रधानमन्त्री बनाइराख्ने, ओली र नेपाल दुवै अध्यक्ष बनेर प्रधानमन्त्री पनि ओलीले नै चलाउने गरी तीन विकल्पमा छलफल बढिरहेको बुझिएको छ ।

नेपालले भने ओलीले अध्यक्ष या प्रधानमन्त्रीमध्ये एक पद छाड्नुपर्ने, प्रतिनिधि सभा विघटनको सिफारिशको निर्णयबाट पछि हट्नुपर्ने र नवौं महाधिवेशनको निर्वाचित कमिटीबाट पार्टी अगाडि बढ्नुपर्नेबाहेकमा सम्झौता नहुने स्पष्ट सन्देश पठाइसकेका छन् । अहिले दुवै नेताको शर्तहरु हेरेर मध्यमार्गी बाटो खोज्ने प्रयास भइरहेको छ ।

एमाले अध्यक्ष अ‍ोली र नेपाल दुवैलाई मिलाउन बामदेव गौतम तटस्थ भूमिकासहित लागेका छन् । ओली खेमाबाट विष्णु पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेल, पृथ्वी सुब्बा गुरुङ्ग, प्रदीप ज्ञवाली, विष्णु रिमाल बढी सक्रिय छन् । नेपाल खेमाबाट सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण बिष्ट, भीम आचार्य बढी सक्रिय छन् । एकता पक्षधरले आफ्नै बलियो खेमा तयार गर्दै लगेर नेताहरुमाथि दबाब बढाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्