डा. बाबुराम भट्टराईले दीपक मनाङेको समर्थनमा यस्तो लेखे


काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका संघिय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले राजीव गुरुङ (दीपक मनाङे)हरूले नयाँ जीवन र नयाँ भूमिका चाहन्छन् भने बञ्चित गर्न नहुने तर्क राखेका छन्। मनाङे गण्डकी प्रदेशको मन्त्री बनेपछि र भट्टराईसँग पनि भेटेपछि विभिन्न टीकाटिप्पणी भएको बताउँदै उनले यसलाई अन्यथा मान्न नहुने धारणा राखेका हुन् ।

आइतबार फेसबुकमा प्रश्न गर्दै डा. भट्टराईले लेखेका छन्, ‘रत्नाकर बाल्मिकी बनेको हामी सबैले सुनेकै छौं । त्यसैले राजीव गुरूंगहरूले नयॉ जीवन र नयॉ भूमिका चाहन्छन् भने किन बन्चित गर्ने ? किन पूर्वाग्रह राख्ने ?’

मान्छे जन्मजात अपराधी नहुने र समाज, राज्यले मान्छेलाई अपराधी बनाउने तर्क दिँदै उनले भनेका छन्, ‘मेरो सुविचारित र अनुभवजन्य मान्यता छ, कुनै पनि मान्छे जन्मजात अपराधी हुन्न। समाज/राज्यले मान्छेलाई अपराधी बनाउॅछ। साथै वर्गीय/जातिय/लैंगिक विभेद भएको समाजमा राज्य/समाजको वर्चस्वशाली तप्काले उत्पीडित/बहिष्कृत तप्कालाई सहजै ‘अपराधी’ बनाइदिन सक्छ। अतः अपराध/अपराधी एक सापेक्ष अबधारणा हो ।’

उनले जेल सुधारका निम्ति तत्कालीन सांसद देवी खड्काको संयोजकत्वमा बनाएको उच्चस्तरीय आयोगको प्रतिवेदन अझै कार्यान्वयन हुन नसकेको स्मरण समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्