निर्वाचनका लागि तयार रहन प्रहरीलाई गृहमन्त्री अधिकारीको निर्देशन


काठमाडौँ, २९ जेठ । गृहमन्त्री खगराज अधिकारीले राष्ट्रलाई शिरमा राखेर निर्वाचनको लागि तयारी अवस्थामा रहन प्रहरीलाई निर्देशन दिनुभएको छ ।

शनिबार प्रहरी प्रधान कार्यालयको निरीक्षण गर्न पुगेका अधिकारीले प्रहरी कर्मचारीहरुलाई जस्तोसुकै परिस्थितिको सामना गर्न राष्ट्रलाई शिरमा राखेर अगाडि बढ्न निर्देशन दिउनुभयो । घोषित प्रतिनिधि सभाको निर्वाचन सफलतापूर्वक सम्पन्न गर्ने लगायतका दायित्व निर्वाहको साथै जस्तोसुकै परिस्थितिको सामना गर्न राष्ट्रलाई शिरमा राखेर अगाडि बढ्नुपर्नेमा उहाले जोड दिनुभयो ।

प्रहरीलाई निर्भय, निर्धक्क र उच्च मनोबलका साथ दायित्व निर्वाह गर्न निर्देशन दिँदै मन्त्री अधिकारीले नेपाल प्रहरी समाज र नागरिकको प्रत्यक्ष जीवनसँग जोडिएको सबै भन्दा प्रभावशाली सुरक्षा निकाय भएको चर्चा गर्दै प्रहरीले आफ्नो कर्तव्य पूरा गर्नका लागि निर्भय, निर्धक्क र उच्च मनोबलका साथ दायित्व निर्वाह गर्न निर्देशन दिनुभयो ।

गृहमन्त्री अधिकारीले कोभिड–१९ द्वारा सिर्जित विषम परिस्थितिमा पनि अग्रपंक्तिमा खटेर नेपाल प्रहरीले समाजमा शान्ति सुरक्षा, अमन चयन कायम गर्ने, अपराध अनुसन्धान तथा नियन्त्रण गर्ने एवम् नागरिकको जीउ धनको सुरक्षाको लागि अहोरात्र निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै यस कार्यमा अझ बढी सक्रिय हुनुपर्ने बताउनुभयो ।

निरीक्षण भ्रमणका क्रममा गृहमन्त्री अधिकारीले प्रहरी प्रधान कार्यालयस्थित डिजिटल फरेन्सिक ल्याब, पोलीग्राफ सेक्सन र डाटा सेन्टरको निरीक्षण गर्नुका साथै त्यस सम्बन्धी गतिविधिबारे जानकारी समेत लिनुभयो । गृहमन्त्री अधिकारीले प्रहरी प्रधान कार्यालय परिसरस्थित अमर प्रहरी स्मारकमा पुष्प गुच्छा अर्पण गर्नुभयो ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, गृह मन्त्रालयका सहसचिव, प्रहरी नायव महानिरीक्षकहरू एवम् वरिष्ठ प्रहरी अधिकृतहरु लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति एवम् ७ वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरुको भर्चुअल उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्