विश्वासको मत लिनु केही घन्टाअघि मुख्यमन्त्री गुरुङले दिए पदबाट राजीनामा


पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पदबाट राजीनामा दिएका छन् । विश्वासको मत लिनु केही घन्टाअघि उनले प्रदेश प्रमुख सीता पौडेलसमक्ष राजीनामा दिएका हुन् ।

आज दिउँसो १२ बजे बस्ने प्रदेश सभा बैठकमा गुरुङले विश्वासको मत लिने कार्यतालिका थियो । गण्डकीमा ६० जना प्रदेश सभा सदस्य रहेकोमा विश्वासको मतका लागि ३१ मत आवश्यक पर्छ। अरु दलले साथ नदिने र एमालेसँग जम्मा २७ सदस्य रहेकोले मुख्यमन्त्री गुरुङले विश्वासको मत पाउन कठिन देखिएको अवस्थामा मुख्यमन्त्री गुरुङले राजीनामा दिएका हुन् ।

कांग्रेसका १५, माओवादी केन्द्रका सभामुखसहित १२, जसपाका दुई र राष्ट्रिय जनमोर्चाका तीन सांसद गरी ३२ जना सदस्य छन्। मुख्यमन्त्री गुरुङलाई मन्त्री दीपक मनाङ्गेले पनि विश्वासको मत नदिने भएपछि उनले राजीनामा दिएका हुन् ।

प्रदेश प्रमुख पौडेलले तीन दिनभित्र बहुमतको सरकार बनाउन आह्वान गरेकी थिइन् । वैशाख २९ गते मुख्यमन्त्री गुरुङले प्रदेश सभामा ठूलो दलको नेताका हैसियतले प्रदेश प्रमुख सीताकुमारी पौडेलबाट मुख्यमन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्री गुरुङले ३० दिन भित्रमा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार आज विश्वासको मत लिने तयारी गरिरहेको बेला राजीनामा दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्