मोरङमा अष्ट्रेलियाको भनेर नवलपरासीको बाख्रा वितरण


मोरङको बेलबारी नगरपालिकाले अष्ट्रेलियाको भनेर नवलपरासीको बाख्रा वितरण गरेको पाइएको छ ।

नगरपालिकाले जेठ १५ गते अष्ट्रेलियाबाट आयात गरेको ‘फूल ब्लड’ बोयर बोका भनी नवलपरासीबाट ल्याएको ९२ वटा बोयर बाख्रा विभिन्न ४४ वटा फर्म र केही किसानलाई वितरण गरेको हो ।

अष्ट्रेलियाबाट ‘फूल ब्लड’ बोयर बाख्रा ल्याउन जेठ ३ गते संखुवासभाको ग्रो अर्गानिक कृषि फर्मलाई एक करोड २४ लाख रुपैयाँमा ठेक्का दिएको थियो । सप्लायर्सले जेठ १५ गते बोका ल्याएपछि वितरण गर्दा किसानले विरोध जनाएका थिए ।

बेलबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप शाहले बाख्रा ल्याउँदा सप्लायर्सको बदमासी देखिएको बताए । ‘आयातकर्ताले भारतको लखनउ हुँदै ल्याएको बताएपछि बाख्रा बाँडियो,’ उनले भने, ‘शनिबार ल्याएका थिए, कागजपत्र पछि ल्याउने भनेपछि बाख्रा वितरण गरियो ।’

सप्लायर्सले बाख्रा ल्याएको कागजात अझै नगरपालिकामा बुझाएको छैन । कागजात नबुझाएपछि नगरपालिकाले भुक्तानी रोकेको छ । हामीले कागजात माग्दा उहाँहरुले बुझाउन सक्नुभएन, भन्सारमा बुझ्दा बाख्रा नै आएको देखिएन, शाहले भने, ‘कागजात बुझाउन नसकेपछि हामीले भुक्तानी रोकेका छौं, अब कारवाही गर्छौं ।

नगरपालिकाका स्रोतका अनुसार सप्लायर्सले नवलपरासीका किसानले पालेका बोयर क्रस बोका र पाठी एउटा निजी फर्ममा भेला पारेर ल्याएका थिए ।

किसानले विरोध गरेपछि नगरपालिकाले उपप्रमुख ढाकाकुमारी पराजुलीको संयोजकत्वमा छानविन समिति गठन गरेको छ । समितिले प्रतिवेदन बुझाएपछि कारवाही प्रक्रिया अघि बढाउने प्रमुख प्रशासकीय अधिकृत शाहले बताए ।

ठेकेदार र बेलबारी नगरपालिकाको बदमासीले बेलबारीका किसान ठगिएको नेपाल व्यावसायिक बाख्रापालक महासंघका केन्द्रीय अध्यक्ष प्रेमसागर पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्