माधव-प्रचण्डलाई देउवाको प्रस्ताव :चुनावी गठबन्धन बनाऊँ


एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतवार राति गरेको ६ बुँदे एकता प्रस्तावपछि माधवकुमार नेपालले आज माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग कोटेश्वरमा भेटे।

आफ्नै निवासमा प्रचण्डसँग सम्वाद गरेपछि मात्रै नेता नेपालले आफू पक्षी स्थायी कमिटी सदस्यहरुको भर्चुअल बैठक राखे। उक्त बैठकमा ओलीको ६ बुँदे प्रस्ताव कपटपूर्ण भन्दै यसको प्रलोभनमा नपर्ने निचोड माधव पक्षले निकाल्यो।

यदि एकता कायम गर्ने हो भने ‌ओलीले प्रतिनिधिसभा विघटनको निर्णयबाट पछि हट्नुपर्ने अडान माधव पक्षले लिएको छ।
स्थायी कमिटी बैठक सकिएलगत्तै नेता नेपाल कोटेश्वर निवासबाट सिधै कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठ पुगे। जहाँ उनी, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र देउवाबीच सोमबार अपरान्ह वार्ता भएको छ।

देउवाको प्रस्ताव

नेपाल-दाहालले आफ्नो पक्षमा प्रतिवद्धता जनाएपछि कांग्रेस सभापति देउवाले अहिले बनेको यो गठबन्धनलाई चुनावसम्म लैजानुपर्ने प्रस्ताव गरेका थिए। कांग्रेस सह-महामन्त्री डा. प्रकाशशरण महतले बताए अनुसार तीन नेताबीच चुनावसम्मका लागि गठबन्धन बनाउने गरी छलफल भएको छ।

एमालेबाट निष्कासित नेता नेपाल पनि ओलीसँग कुरा नमिलिरहेको अवस्थामा नयाँ पार्टी खोलेर माओवादी केन्द्र र कांग्रेससँग मिलेर गठबन्धनको योजनामा छन्। उनले त्यही रणनीति अनुसार नयाँ पार्टी दर्ताका लागि आफूनिकट नेताहरुलाई निर्देशन दिइसकेका छन्।

आइतबार एमाले अध्यक्ष ओलीले देउवालाई प्रधानमन्त्री बनाउने मागसहित सर्वोच्चमा दिएको रिटबाट हस्ताक्षर फिर्ता लिन प्रस्ताव गरेका थिए। त्यही आशंका मेट्न दाहाल र नेपाल देउवानिवास पुगेका थिए।

नेपाल पक्षको सोमबार बसेको स्थायी कमिटी बैठकले हस्ताक्षर फिर्ता नहुने, बरु ओलीले विघटनको निर्णय फिर्ता लिनुपर्ने प्रस्ताव गरेको थियो। देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्च अदालतमा दर्ता भएको रिटमा खनाल-नेपाल समूहका २३ सांसदको हस्ताक्षर छ। श्रोत -फरकधार

प्रतिक्रिया दिनुहोस्