राजेन्द्र महतोको बचाउमा प्रधानमन्त्रीका प्रेस सल्लाहकार!


काठमाडौं : प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले विवादास्पद अभिव्यक्ति दिएका छन् ।उनले उपप्रधानमन्त्री राजेन्द्र महतोको अभिव्यक्तिको बचाउ हुने गरी धारणा राखेका हुन् ।

नेपालमा बहुल राष्ट्रिय राज्य स्थापना गर्न मुक्ति आन्दोलनको तयारी गर्ने उपप्रधानमन्त्री महतोको अभिव्यक्तिको चौतर्फी विरोध भइरहेका बेला प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापा भने बचाउमा उत्रिएका हुन् ।

थापाले आज बिहान एक ट्वीट गर्दै गठबन्धन सरकारमा मन्त्रीहरुको अभिव्यक्ति विवादास्पद हुने गरेको उल्लेख गर्दै महतो त्यसको पछिल्लो उदाहरण बनेको टिप्पणी गरे । तर उनले महतोको अभिव्यक्तिप्रति कुनै विरोध जनाएका छैनन् ।

बरु महतोले दुई दिनमै गल्ती सच्याएको उल्लेख गरेका छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले महतोको अभिव्यक्तिको विरोध गर्ने दलहरुप्रति कटाक्ष गरेका छन् । उनले सरकार गठनमा महतोको समर्थन नपाएकाहरुले सत्तास्वार्थ पूरा गर्न नसकेर वक्तव्यजाी गरेको टिप्पणी गरेका छन् ।

‘प्राय : नै गठबन्धन सरकारमा मन्त्रीहरूका अभिव्यक्ति विवादास्पद हुनेगरेका पाइन्छन्। उपप्रधानमन्त्री राजेन्द्र महतो त्यसका पछिल्लो पात्र बने, तर दुई दिनमै गल्ती सच्याए,’ थापाले ट्वीटरमा लेखेका छन्, ‘महतोको समर्थन नपाई सत्तास्वार्थ पूरा गर्न नसकेर वक्तव्यवाजी गर्नेहरूको बुमेराङ साँच्चै हेर्नलायक छ !’

महतोको अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेको छ । हिजो मध्यरातमा एक विज्ञप्ति जारी गर्दै महतोले आफू नेपालको राष्ट्रिय एकता र अखण्डताप्रति प्रतिवद्ध रहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्