जसपाले टुङ्गायो मन्त्रीहरुको नाम, आजै साँझसम्म सपथ लिने तयारी


काठमाडाैं – सरकारमा सहभागी हुने विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र जसपा अध्यक्ष महन्थ ठाकुरविच बालुवाटारमा छलफल चलिरहेको छ। बिहानदेखी शुरु भएको छलफलमा मन्त्रालयको टुङ्गो लगाउने बिषयमा कुरा भइरहेको छ।

यसैवित महन्थ ठाकुर पक्षबाट मन्त्रालयमा सहभागी हुने सांसदहरुको नाम भने टुङ्गो लगाएको छ। जसपानिकट श्रोतका अनुसार नेता राजेन्द्र महतोको नेतृत्वमा जसपा सरकारमा सभागी हुन लागेको छ। महतोको नेतृत्वमा शरतसिंह भण्डारी, अनिलकुमार झा, राजकिशोर यादव, चन्दा चौधरी, लक्ष्मणलाल कर्ण, उमाशंकर अरगरिया, विमल श्रीवास्तव, एकवाल मियाँ र रेनुका गुरुङ सरकारमा सहभागी हुने छन्। यसमध्ये आठजना मन्त्री र दुई जना राज्यमन्त्री हुने बताइएको छ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा राजेन्द्र महतो, जलस्रोत तथा सिँचाई मन्त्रालयमा शरतसिंह भण्डारी, शहरी विकास मन्त्रालयमा अनिलकुमार झा, खानेपानी मन्त्रालयमा विमल श्रीवास्तव र युवा तथा खेलकुद मन्त्रालयमा उमाशंकर अरगरिया जाने लगभग तय भएको छ। राजकिशोर यादव र लक्ष्मणलाल कर्णको मन्त्रालय टुङ्गो लाग्न बाँकी रहेको बताइएको छ।

बिहीबार भएको छलफलमा प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले ठाकुर पक्षलाई शहरी विकास मन्त्रालय, सँस्कृति तथा पर्यटन मन्त्रालय, खानेपानी मन्त्रालय, भूमी व्यवस्था तथा सहकारी मन्त्रालय, श्रम रोजगार मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, महिला तथा बालबालिका मन्त्रालय र वन मन्त्रालय दिने बताएका थिए । आफूले माग गरेअनुसार गृह मन्त्रालय नदिने भएपछि ठाकुर पक्षले भौतिक मन्त्रालय र उद्योग मन्त्रालय माग गरिरहेको छ। मन्त्रालयको विषयमा कुरा मिले आजै साँझसम्म सपथ लिने तयारी समेत गरिएको छ।

प्रतिक्रिया दिनुहोस्