नयाँ दल खोल्न अघि बढेका नेपालको साथ छाड्ने बिष्ट र भट्टराईकाे संकेत


काठमाडौं । नेकपा एमालेको दुवै पक्ष (ओली र नेपाल) ले आज छुट्टाछुट्टै बैठक राखेका छन् ।

पार्टी विवाद चरमोत्कर्षमा पुगी मिलाउने प्रयास भइरहेको भनिएका बेला छुट्टै बैठक डाकिनुले एकतामा असर पर्ने देखिन्छ ।

यसअघि मंगलवार बसेको एमाले स्थायी कमिटीको बैठकपछि पार्टी प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले पार्टी एकताको लागि अन्तिमसम्म प्रयास गर्ने विषयमा छलफल गर्ने निर्णय भएको बताएका थिए । तर यता बिपक्षी गठबन्धनसँग सहकार्य गर्दै संसद विघटनविरुद्ध सर्वोच्च पुगेको नेता माधवकुमार नेपाल पक्ष भने पूरानै अडानमा देखिएको छ ।

आज एमाले अध्यक्ष केपी शर्मा ओली पक्षको स्थायी कमिटीको बैठक बस्दैछ । यता नेपाल पक्षले पनि आफू पक्षका स्थायी कमिटीका सदस्यहरुलाई छलफलका लागि बोलाएको छ । ओली पक्षले नेपाल पक्षको बैठकमा सहभागी नहुन स्थायी कमिटी सदस्यहरुलाई निर्देशन दिएको छ ।

पार्टी विवाद मिलाउनका लागि दुवै पक्षबाट दोस्रो तहका नेताहरु सक्रिय रहेपनि गुटगत गतिविधि भने रोकिएको छैन । जसको कारण पार्टी एक ढिक्का भइ अघि बढ्ने कुरामा शंका उत्पन्न हुन थालेको छ ।

नेपालको साथ छाड्ने बिष्ट र भट्टराईकाे संकेत

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल नयाँ दल खोल्न अघि बढेकाे समयमा नेपाल निकट गोकर्ण बिष्ट र योगेश भट्टराईले भने साथ छाड्ने छाठकाँट देखाएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले सहमतिका नाममा राजनीतिक अस्त्र फालेर अलमलाउने मात्र गरेको भन्दै नेपाल, झलनाथ खनाल र भीम रावल अलग भएर जानुपर्ने पक्षमा छन् ।

तर, एमाले फुट्न दिन नहुने र संघर्ष जारी राख्नुपर्ने पक्षका बिष्ट र भट्टराईले भने कुनै हालतमा एमाले फुटाएर अर्को पार्टी गठन गर्न नहुने बरू जे जस्तो सहमति निकाल्न सकिन्छ निकालेर अन्र्तसंघर्ष गर्दै जानुपर्ने अडान लिदै आएका छन्।

नेपाल भने सर्वोच्च अदालतको प्रतिनिधि सभा विघटनबारे आउने फैसला हेरेर अगाडि बढ्ने पक्षमा छन् । फैसला आएपछि उनले नयाँ पार्टी खोल्ने तयारी गरेका छन् । त्यतिबेला सुरेन्द्र पाण्डेको साथ हुनसक्ने सम्भावना छ । तर, गोकर्ण बिष्ट र योगेश भट्टराई एमालेमै रहने सम्भावना बलियो देखिएकाे छ ।

बिष्ट र भट्टराईको पछिल्लो भूमिकाप्रति नेपाल असन्तुष्ट बनेका छन् । हिजो आफूनिकट भातृसंघ संगठनका युवा नेताहरुसँगको छलफलमा नेपालले अगाडि बढ्ने स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्