फुट नजिक पुगेको एमालेको आज अलग-अलग बैठक


काठमाण्डौँ, जेठ २० । आन्तरिक विवादमा फसेर फुटनजिक पुगेको नेकपा एमालेका दुवै समूहले आज अलगअलग बैठक बोलाइएका छन् ।अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र उनको विपक्षमा रहेका वरिष्ठ नेता माधवकुमार नेपाल तथा झलनाथ खनाल पक्षले अलगअलग बैठक बोलाएका हुन् । संस्थापन पक्ष अर्थात ओली समूहले दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा स्थायी कमिटी बैठक बोलाएको छ ।

गत मङ्गलबार बसेको स्थायी कमिटी बैठकले अन्तिम अवस्थासम्म पार्टी एकता जोगाउन प्रयास जारी राख्ने निर्णय गरेको थियो । त्यसपछि बुधबारलाई बोलाइएको संस्थापन पक्षको बैठक स्थगित गरेर आज बोलाइएको हो ।

नेपाल र खनाल पक्षले बिहान ११ बजे आफू पक्षीय केन्द्रीय कमिटीको बैठक बोलाएको छ । बैठकमा नेपाल र खनाल पक्षका केन्द्रीय कमिटी सदस्यहरु सहभागी हुने भएका छन् ।

पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक बोलाइएको नेपाल पक्षीय एक नेताले बताए । २०७५ सालको जेठ २ गतेको अवस्थामा पार्टीलाई फर्काउनेबारे दुवै पक्षका दोस्रो र तेस्रो तहका नेताहरुले छलफल गरिरहेका छन् । यही अवस्थामा केन्द्रीय सदस्यहरुबीच छलफल गर्नभन्दै नेपाल र खनाल समूहले अलग्गै बैठक बोलाएको हो ।

अध्यक्ष ओलीले २०७५ को जेठ २ को अवस्थामा फर्कन तयार रहेको बताइसकेका छन् । तर त्यसका लागि संविधानको धारा ७६ को उपधारा ५ अनुसार काङ्ग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनभन्दै नेपाल र खनाल समूहका सांसदले दिएको समर्थन फिर्ता गर्नुपर्ने उनको सर्त छ ।

यस्तै नेता नेपालले पार्टी मिल्न सक्ने आधार अध्यक्ष ओलीले नै भत्काउँदै लगेको आरोप लगाउँदै आएका छन् । उनले प्रतिनिधिसभा विघटनको निर्णय बदर गर्नुपर्ने अडान छाडेका छैनन् ।

पार्टी विभाजनको सङ्घारमा पुगेका बेला दुवै पक्षका दोस्रो तहका नेताहरु एकता जोगाउन भन्दै निरन्तर छलफलमा छन् । तर नेतृत्वमा रहेका नेताहरुकै कारण पार्टी एकता जोगिने सम्भावना कमजोर बनेर गएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्