खनाल–नेपाल समूहले भन्यो : देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावबाट पछि हट्दैनौं


काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)का दोस्रो पुस्ताका नेताहरू पार्टी जोगाउन दौडधुपमा छन् । एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले कार्यदलको उपादेयता नरहेको र अनौपचारिक माध्यमबाट छलफल चलिरहेको बताइरहेका बेला दोस्रो पुस्ताका नेता नियमितजसो संवादमा छन् । सोमबार साँझ पनि दुवैतर्फका नेताहरू सघन संवादमा जुटे । प्रधानमन्त्री केपी ओलीका तर्फबाट सुवास नेम्वाङ, अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र खनाल–नेपाल समूहका घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, योगेश भट्टराईबीच झण्डै पाँचघण्टा वार्तालाप भयो । विवाद मिलाएर एकता बचाउने अनौपचारिक समझदारी जुट्यो ।

स्रोतका अनुसार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली जेठ २ मा फर्कन तयार रहने तर माधवकुमार नेपाल समूहले यसबीचमा गरेका गतिविधि फिर्ता लिएर सार्वजनिकरूपमा आत्मआलोचित हुनुपर्ने ‘शर्त–बन्देज’ अघि सारेका छन् । उनीनिकट नेताहरू यस्तो बताउँदै हिँड्न थालेका छन् ।

तर, झलनाथ खनाल र माधवकुमार नेपाल समूहले पनि केपी ओलीसँग शर्तसहित कुनै वार्ता नहुने बताएको छ । खनाल–नेपाल समूहले विपक्षी गठबन्धनलाई दिएको समर्थन ‘राजनीतिक’ भएको जिकिर गरेको छ । उसले यसबाट कुनै पनि हालतमा फिर्ता नहुने अडान प्रष्ट्याएको छ । खनाल–नेपाल समूहमा रहेका घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र योगेश भट्टराईलगायत नेता पार्टी आन्दोलन बचाउन एकता अपरिहार्य रहेको बताउँदै आएका छन् । जेठ ९ गते संसद् भवनमा प्रतिनिधि सभा विघटनविरूद्ध मुद्दाको तयारी गरिरहँदा भुसालले एमाले, कांग्रेसलगायत ठूला पार्टीहरूको जरा खोतलिँदा लोकतन्त्र नै कमजोर हुने र व्यवस्था धरापमा पर्ने अर्थ्याएका थिए ।

संसदीय मूल्यमान्यताविरूद्ध जानुपरेकोमा आफू जतिबेलै आत्मआलोचित हुन तयार रहेको बताउँदै जुनसुकै मूल्य चुकाएर भए पनि एकता बचाउनुपर्ने पक्षमा आफू रहेको पनि बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्