केपी ओली आधुनिक नेपालका निर्माता


काठमाडौं । नेकपा (एमाले)का केन्द्रीय सदस्य महेश बस्नेतले माधवकुमार नेपाल पथभ्रष्ट बाटोमा हिँडेको आरोप लगाएका छन् । युवा संघ नेपाल केन्द्रीय सचिवालय बैठकलाई सम्बोधन गर्दै एमालेका असन्तुष्ट झलनाथ खनाल, माधवकुमार नेपालसहितका नेताहरू ‘एमालेको सिता खाएर शेरबहादुर देउवाको गीता’ गाउन थालेको बताएका हुन् । उनले माधवकुमार नेपालहरू हिजो ‘प्रतिगमन आधा सच्चिएको भन्दै ज्ञानेन्द्र शाहले बनाएको सरकारमा जान हतारिएको र आज प्रतिगमन भन्दै हिँडेको भन्दै आश्चर्य प्रकट गरे । माधवकुमार नेपालहरू कहीँ नपुग्ने उनको ठोकुवा थियो । उनले तत्कालीन माओवादीले जनयुद्धका नाममा अर्बौंको भौतिक संरचना ध्वस्त बनाएको र त्यही कारणले मुलुक पछि परेको बताए ।

त्यतिबेला ध्वस्त भएका संरचना अहिले निर्माण हुन थालेको बस्नेतको जिकिर थियो । उनले नेता नेपालहरू पश्चात्ताप गर्दै एमालेमा ओलीसँग मिल्नै आइपुग्नुपर्ने बताए । “हिजो झलनाथ र माधवकुमार नेपालले चलाएको पार्टी हेरौँ । हिजो एमाले न पोथी, न भालेको अवस्थामा, लिंग नछुट्टिएको अवस्थामा थियो । आज अन्तर्राष्ट्रिय मञ्चमा केपी ओलीको खोजी हुन थालेको छ । राष्ट्र प्रमुखहरूको सम्मेलनमा नेपाल फर्स्ट बेञ्चर बन्न थालेको छ । हिजो ब्याक बेञ्चर थियो,” युवा संघका इन्चार्जसमेत रहेका उनले भने ।

उनले केपी ओली आधुनिक नेपालका निर्माता भएको जिकिर गरे । उनले केपी ओली मनमोहनपछिको विकासवादी नेता भएको बताए । “केपी ओली आधुनिक नेपालका निर्माता हुन्, तथ्यहरूले यही भन्छ,” उनको जिकिर थियो । हुलाकी राजमार्ग, मदन भण्डारी, मध्यपहाडी राजमार्ग प्रधानमन्त्री ओलीकै पालमा बनेको र सडक सञ्जाल निर्माणको तथ्यले पनि उनी विकासवादी नेता भएको ठहर्ने बस्नेतको भनाइ थियो ।

उनले सामाजिक सञ्जालमा एमाले, केपी ओलीविरुद्ध भ्रम फिँजाइएको भन्दै त्यस्ता तत्त्वहरूलाई युवा संघ नेपालले साइबर सेना बनाएर उनीहरूलाई तह लगाउनुपर्ने बताए । “सामाजिक सञ्जालमा भ्रम फैलाउनेहरूलाई तह लगाउन हामी नै काफी छौँ । सरकारको संरचना चाहिँदैन । हामीले तह लगाउनुपर्छ,” उनले भने । उनले डा. बाबुराम भट्टराई सामाजिक सञ्जालमा प्रधानमन्त्रीविरुद्ध भ्रम फिँजाउने मध्यराति बालुवाटारमा गएर ओलीसँग सरकारको नेतृत्व माग्ने द्वेध चरित्रको भएको बताए ।

“उपेन्द्र यादव आफू स्वास्थ्यमन्त्री हुँदा मधेसका मुद्दा कहाँ हाले ? कहाँ लुकाए ?” उनको प्रश्न थियो, “जसपाका केही नेताहरू अमूक मन्त्री पाए हामी तपाईंहरूबाट टाढा हुँदैनौँ भनिराख्नुभएको छ । माओवादी केन्द्रका केही सांसद हामी पनि एमालेमा आउँछौँ भनिरहेका छन् । कांग्रेसभित्र पनि त्यस्तै छ । हामी यस्ता क्रियाकलाप लाग्दैनौँ । उहाँहरूले नै हामीलाई सांसद अपहरण गरे भन्ने आरोप लगाउँछन् ।”

उनले एमालेलाई सबल, सुदृढ बनाएर आगामी निर्वाचनमा दुई तिहाइ मत ल्याउन सक्षम हुनुपर्ने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्