यो वर्षको मनसुन खतरायुक्त हुने, पूर्वतयारी थाल्नुपर्ने प्राधिकरणको सुझाव


काठमाडौँ : राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले यो वर्षको मनसुन खतरायुक्त हुनसक्ने बताएको छ।प्राधिकरणका कार्यकारी प्रमुख डा. अनिल पोखरेलले अघिल्लो वर्षको भन्दा धेरै वर्षा हुने र बाढी, पहिरो तथा रोगब्याधिले धेरैलाई असर गर्न सक्ने बताएका हुन् । उनले दक्षिण एसियाको मौसम सम्बन्धी आउटलुकमा गरिएको पूर्वानुमान अनुसार सरदरभन्दा बढी पानी पर्ने देखाएको बताए ।

अघिल्लो वर्ष कम पानी परेको अवस्थामा पनि बाढी र पहिरोको धेरै घटना घटेको हुँदा यस वर्ष विपद्‌को घटना कहालीलाग्दो हुनसक्ने बताए । उनले भने, ‘पोहोरभन्दा यसपाली झन् गाह्रो अवस्था आइपुगेको छ । पोहोर सरदर वर्षा हुँदा अकल्पनीय क्षति बेहोर्नुपर्‍यो । यो वर्ष झन् कहालीलाग्दो किन छ भने मौसम आउटलुक जुन तयार पारिन्छ, सरदरभन्दा बढी पानी पर्ने देखिएको छ । बाढी, पहिरोको घटना र अन्य रोगव्याधिका घटना पनि बढ्ने देखेका छौं ।’

पोखरेलले बाढी, पहिरो, रोगव्याधी, सर्पदंश लगायतले १२० दिनसम्म पिरोल्ने भएकाले विपद्‌बाट बच्न पूर्वतयारी आवश्यक रहेको बताए । जोखिमका बस्तीहरु छन् भने अहिलेदेखि नै सुरक्षित हुने उपाय अवलम्बन गर्नुपर्ने उनको भनाइ छ । उनले भने,‘हरेक व्यक्ति, समुदायको आ–आफ्नो ठाउामा पूर्वतयारी गर्नु आवश्यक छ । जोखिमका बस्तीहरु छन् भने सुरक्षित हुन अविलम्ब उपाय सुरु गर्नुपर्छ । सर–सामग्रीको जोहो गर्ने बेला यही हो । यो तयारी सुरु गरौं ।’

प्रतिक्रिया दिनुहोस्