एमालेमा कार्वाहीको अविराम यात्रा,दुनियाँलाई गाइजात्रा


नेकपा एमालेमा किस्ताबन्दीको स्पष्टिकरण जारी छ । राजनीतिक रुपले बाटो क्लियर हुँदा पनि सत्ताका लागि सांसदको टाउको गनेर हिसाबकिताब मिलाउने खेलोमेलोले कारवाही र फुकुवाको क्रम रोकिएकै छैन ।माधव नेपाल समूहका एक-एक नेतालाई फकाएर आफूतिर तान्ने उपायका वावजुद आपसी असहमति र सहमतिका खेल पनि उस्तै छ । सांसदहरुलाई कारवाही गर्दा कथं संसद पुनर्स्थापना भए आफैंलाई घाटा लाग्ने बुझेर ओली पक्षले फकाउने र थर्काउने रणनीति एकैसाथ अघि बढाएको बुझिन्छ ।

सरकार बनाउन विपक्षी गठवन्धनलाई सघाएको आरोपमा जेठ १० गते बसेको ओलीपक्षीय स्थायी कमिटी बैठकले बरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपालसहित ११ जना नेतालाई साधारण सदस्यसमेत नरहने गरी कारवाही गरेको थियो । विपक्षी गठवन्धनमा लागेका बाँकी १५ जनालाई पनि घर घरै लगेर अस्ति बेलुका २४ घण्टे स्पस्टिकरण सोधियो । ती कसैले पनि हिजोको म्यादभित्र जवाफ बुझाएनन् ।

‘आफ्नै दलका नेताले प्रधानमन्त्री पदमा गर्नुभएको दाबीबिरुध्द देहाय बमोजिमका क्रियाकलापहरुमा नेतृत्व,अगुवाई, समर्थन,सहयोग तथा परिचालन समेत के,कति कारणले गर्नुभएको हो ? यसै बिषयमा समेत तपाईंलाई यसपूर्व स्पष्टिकरण सोधिएकोमा सोको चित्तबुझ्दो जवाफ नआएको स्मरण गराउँदै मिति २०७८/०२/१० गते बसेको बैठकको निर्णय अनुसार पुन:स्पस्टिकरण सोधिएको छ’, स्पष्टिकरण पत्रमा भनिएको छ ।

दलका नेताविरुध्द विपक्षी गठवन्धनका पक्षमा हस्ताक्षर गरेको अभियोगमा सोधिएको स्पस्टिकरणमा अनुशासनहीन, अराजक,अनैतिक र लोकतान्त्रिक पध्दतिविरुद्धको अपराधपूर्ण कार्य के,कति कारणले गरेको हो भनेर सोधिएको छ ।२४ घण्टामा चित्तबुझ्दो जवाफ नदिए पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही किन नगर्ने भनेर सोधिएको स्पष्टिकरणको जवाफ नदिएका १५ जनालाई फेरि अर्को पत्र थमाइएको हो ।

किस्ता किस्तामा सोधिएको स्पस्टिकरण र कारवाहीबारे सोध्दा एक नेता भन्छन्, ‘उहाँलाई भोट हाल्ने सांसद चाहिएको छ,पार्टीको नेता चाहिएको छैन । कारवाही गर्दा आफ्नै भोट घट्छ भनेर होला । अदालतले संसद विघटन उल्ट्याइदियो भने विपक्षीले सरकार बनाउलान् भन्ने हिसाबकिताब पनि गरेको हुनसक्छ । हाम्रो मायाले रोकेको हो र ?’

नेपाल पक्षका २७ जना संघीय सांसद र ५ जना कर्णाली प्रदेशसभा सदस्यसहित ३२ जनालाई स्पष्टिकरण सोधेर शुरु भएको कारवाही र निश्कासनको सिलसिला किस्ता-किस्तामा अझै जारी छ ।

आफू अप्ठेरोमा परेका बेला फकाउने,अलि अटेर गरे थर्काउने र अन्तिममा मात्र निश्कासन गर्ने रणनीति देखिन्छ । अप्ठेरोमा परेका बेला विश्वासको मत दिन संसदमा अनुपस्थित हुँदा पनि स्पष्टिकरण सोधिएको थिएन । माधव नेपालसहितका चार नेताको कारवाही फुकुवा पनि गरिएको थियो ।

नेपाल पक्षका सांसदहरुले भने स्पष्टिकरणको जवाफ नदिने बताइसकेका छन् ।’बरिष्ठ नेताहरुलाई नै निश्कासन गरिसकेपछि अब हामीलाई के को डर छ र ! जब एक भएर जाने अवस्था नै छैन भने यस्ता स्पष्टिकरणको अब अर्थ छैन’, एक सांसदले भने ।-janaaastha

प्रतिक्रिया दिनुहोस्